देशको विद्यमान समस्या समाधान कांग्रेसले गर्न सक्छ: निधि

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ८ : ५३


नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले देशको विद्यमान समस्या समाधान कांग्रेसले नै गर्नसक्ने बताउनुभएको छ।

निधिले देशको निकास र लोकतन्त्रलाई मजबुत बनाउन अगामी चुनावमा नेपाली कांग्रेसलाई नै मतदान गर्नुपर्ने बताउनुभयो।

कांग्रेस धनुषा क्षेत्र ३ (ख) को पहिलो क्षेत्रीय अधिवेशनको उद्घाटन कार्यक्रममा आज जनकपुरधाममा उपसभापति निधिले कांग्रेसले नै देशको विद्यमान समस्या समाधान गर्ने भएकाले कांग्रेसलाई सहयोग गर्न आम जनतासँग आग्रहसमेत गर्नुभयो।

उपसभापति निधिले कांग्रेस नेतृत्वमा बनेको गठबन्धन सरकारले संविधानको रक्षा गर्दै देश र जनताको हितमा केन्द्रित रहेको बताउँदै उहाँले सरकारको पहिलो प्राथमिकता नागरिकको जीवन रक्षा रहेको बताउनुभयो।

निधिले भन्नुभयो, “वर्तमान सरकार सही दिशामा अघि बढिरहेको छ। पुनः एक पटक कांग्रेसलाई मतदाताले बहुमत दिनुपर्छ।”

निधिले जनकपुरधामको पर्यटन प्रवद्र्धनमा महत्वपुर्ण मानिएको नेपाल रेल्वे यथाशीघ्र सञ्चालनमा आउनुपर्ने जोड दिनुभयो।

कार्यक्रममा प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले आफूले कांग्रेस प्रदेश २ को सभापतिमा उम्मेदवारी घोषणा गरेको बताउनुभयो।

कांग्रेस धनुषा क्षेत्र ३ का सभापति शिवजी रायको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस प्रदेशसभा सदस्य शिवचन्द्र चौधरीसहितले अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो। रासस


प्रतिक्रिया दिनुहोस्