प्रचण्डलाई विप्लवले सोधे-नेतृत्वबाट बाहिरिन तयार हो? एकताका लागि यी हुन शर्त

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ७ : ५७


काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले नेकपा माओवादी केन्द्रसँगको एकताबारे अनावश्यक भ्रम नफैलाउन आग्रह गरेका छन।

उनले आफू एकता विरोधी नभएको र नेपालमा कम्युनिस्टहरूबीच एकता जरुरी भए पनि एकताका लागि सैद्धान्तिक राजनीतिक पक्ष निकै फरक भएको बताए।

पार्टी पुनर्गठनको दिन पारेर आज नेकपा निकट मगर राष्ट्रिय मुक्ति मोर्चाको दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटन गर्न  म्याग्दीको बेनी पुगेका विप्लवले पार्टी एकताका लागि सरकार संसद् छोडेर व्यवस्थाका विरुद्ध उभिन अपिल गरे।

उनले अब प्रचण्ड लगायतका नेताहरूबाट क्रान्ति सम्भव नभएको भन्दै प्रचण्ड लगायतका नेताहरू संरक्षक भएर बस्नु पर्ने बताए।

उनले भने “तपाईँले पार्टी पनि चलाउनुभयो, सरकार पनि चलाउनुभयो, अवसर दिएकै हो, सके जति गर्नुभयो। अब यो भन्दा चमत्कार गर्नुहुन्छ भन्ने आशा कसैलाई छैन! त्यसैले पार्टी एकता गरौँ तपाईँ लगायत अग्रज नेताहरू संरक्षक भएर बस्नुस् पार्टी र आन्दोलन हाँक्ने जिम्मा एक पटक हामीलाई दिनुहोस्। के तपाईँ तयार हुनुहुन्छ? एकता ठुलो पार्टी बनाएर दलाल संसदीय व्यवस्थाको चुनाव लड्न, नेता, सांसद मन्त्री, प्रधानमन्त्री बनेर सान देखाउन, निजी स्वार्थ पुरा गर्न होइन मुठ्ठीभर दलाल पुजिँपति वर्गको हालीमुहाली चालिरहेको संसदीय व्यवस्था ध्वस्त पारेर जनताको समाजवादी व्यवस्था स्थापना गर्ने उद्देश्य राखेर नयाँ दृष्टिकोण, विचार, नीति र नेतृत्वसहित हुनुपर्छ। त्यो सर्तमा हामी एकताको लागी हरदम तयार छौँ। तपाईंहरु संसदीय व्यवस्थाको दलदलबाट बाहिर निस्कन सक्नुहुन्छ?” विप्लवले प्रश्न गर्दै अगाडी भने, ”आलिसान महल, चिल्लो गाडी, करोडौँ सम्पत्ति, विलासी पूर्ण जीवन, परिवार, नातागोता, आसेपासेको मोह र स्वार्थको घेराभन्दा माथि उठेर सहिद, बेपत्ता परिवार,घाइते, अपाङ्ग योद्धा, इमानदार नेता, कार्यकर्ता एवं किसान, मजदुर, गरिब जनताको झुपडीमा गएर ढिँडो खान, दुःख साट्न, कुरा सुन्न र उनीहरूको सपना पुरा गर्ने अठोटसहित अघि बढ्न तयार हुनुहुन्छ? हामी तयार छौ, एकता नै चाहेको हो भने हामीलाई प्रतिबन्ध लगाएको प्रति आत्मालोचना गर्नुस्, सरकारमा हुनुहुन्छ हाम्रो नेता, कार्यकर्ता रिहाइ गर्नुस्, हामी माथि लगाइएको झुटो मुद्दा खारेज गर्नुस् अनि मात्र विश्वासको वातावरण बन्छ। एकताबारे बहस सुरु हुन्छ, अन्यथा आफ्नो राजनीतिक सङ्कटलाई टार्न, कार्यकर्तालाई ठमठमाउन, जनतालाई भ्रमित पार्न एकताको अफवाह फैलाउनुको कुनै अर्थ छैन”।


प्रतिक्रिया दिनुहोस्