लोकतन्त्र सम्मेलनमा ताइवानलाई बोलाएपछि चीन रुष्ट, भन्योः यो अमेरिकाको गल्ती हो

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ४ : ४९


अमेरिकाले लोकतन्त्रको विषयमा एउटा बृहत सम्मेलनको आयोजना गर्ने भएको छ। आगामी डिसेम्बर ९ र १० तारिखमा ‘लोकतन्त्रको शिखर सम्मेलन’ भनेर भर्चुअल सम्मेलन हुन लागेको बीबीसीले जनाएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यो सम्मेलनमा उपस्थित हुन ११० देशलाई निम्तो दिएका छन्। तर यो कार्यक्रमको लागि रुस र चीनलाई भने निमन्त्रणा दिइएको छैन।

बाइडेनले रुस र चीनलाई निम्तो नदिएपछि अमेरिका र यी देशहरुबीच तिक्ततापूर्ण सम्बन्ध छ भन्ने स्पष्ट हुन्छ। चीनले आफ्नो प्रान्त मान्ने ताइवानलाई पनि अमेरिकाले निम्तो पठाएको छ।

यसको अर्थ अमेरिका अघोषित रुपमा ताइवान स्वतन्त्र होस् भन्ने चाहन्छ। यो घटनाले चीन अमेरिकासँग रुष्ट बनेको छ। चीनले कडा शब्दमा अमेरिकाको आलोचना गरेको छ।

ताइवान हेर्ने चीनको स्टेट काउन्सिल ताइवान अफेयर्स अफिसले बुधबार भनेको छ,‘यो अमेरिकाको गल्ती हो। अमेरिकाले यस्तो गल्ती दोहोर्याइरहेको छ।’

चीनले ताइवान आफ्नो प्रान्त भएको बताउने गर्दछ। जसकारण ताइवानलाई भिन्दै मुलुकलाई झैं निमन्त्रणा दिएर आधिकारिक छलफलमा डाक्नुलाई चीनले रुचाएको छैन।

बाइडेनले ताइवानलाई पनि सम्मेलनमा बोलाएका छन् तर अमेरिकाले ताइवानलाई देश मान्दैन। यसको अर्थ अघोषित रुपमा अमेरिकाले ताइवानलाई देश ठानिरहको छ, जुन चीन स्वीकार्न चाहँदैन।

ग्लोबल टाइम्सका अनुसार ‘चीन अमेरिका र ताइवानबीच हुने कुनै पनि औपचारिक छलफलको पूर्ण रुपमा विरोध गर्दछ।’

ताइवान अफेयर्सका प्रवक्ता जु फेंगलियानले बुधबार भनेका छन्,‘अमेरिकी सरकारले एक चीन नीति मान्दै आएको छ। र ताइवानको विषयमा अमेरिका र चीनले तीनपटक संयुक्त वक्तव्य निकालेको छ।’


प्रतिक्रिया दिनुहोस्