बिर्तामोडदेखि भद्रपुरसम्म चार लेनको सडक

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ४ : २१


झापा। बर्तिामोदेखि झापाको सदरमुकामसम्मको यात्रा निकै कष्टकरपूर्ण छ। भत्किएको धुलाम्मे सडकका कारण बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढीसम्मको यात्रामा यात्रुले निकै कष्ट भोग्दै आएका छन्। तर, अब भने सदरमुकाम चन्द्रगढीसम्म चार लेनको सडक बन्ने भएको छ।

यसअघि बिर्तामोडको मुक्ति चोकदेखि हचर्ना कल्भर्टसम्म चार किलोमिटर सडक चार लेनको बनेको छ। उक्त सडक २७ करोड नौ लाख ७० हजारमा निर्माण भएको हो। बाँकी आठ किलोमिटर पनि चार ठेक्का लागेर धमाधम काम भइरहेको सडक डिभिजन कार्यालय दमकले जनाएको छ।

बिर्तामोड-भद्रपुर सडकखण्डअन्तर्गतर बाँकी आठ किलोमिटर सडकको स्तरोन्नतिसहित चार लेनको सडक बनाउन गतवर्षको माघमा ठेक्का सम्झौता भएर काम धमाधम भइरहेको सडक डिभिजन कार्यालय दमकका सूचना अधिकारी अनुप साउदेनले जानकारी दिए।

उनका अनुसार उक्त सडक निर्माणको ठेक्का कोनटेक प्रालि काठमाडौंले लिएको छ। ६ माघ २०७७ मा ५८ करोड दुई लाख २२ हजारमा ठेक्का सम्झौता भएको हो। यसको काम ५ भदौ २०८० सालसम्ममा सक्नुपर्ने उनले बताए। यद्यपि, सोचेअनुरूप काम नभएको उनको भनाइ छ।

‘हालसम्म १० प्रतिशत मात्र काम भएको छ। यो अपेक्षा अनुरूप हैन। गत वैशाखमा कोरोनाका कारण लकडाउन हुँदा काम गर्न केही समस्या भएको हो’, साउदेनले भने, ‘तर, त्योबेला काम गर्न नसकेको काम यो वर्ष पूरा गर्छु भन्नुभएको छ। निर्माण व्यवसायीले यो वर्ष कामको कति बढाए तोकिएकै समयमा काम सकिन्छ।’ यो सडक राजमार्ग पुनर्निमार्ण तथा स्तरोन्नतिको योजनाअनुसार निर्माण सुरू भएको साउदेनले बताए।

बिर्तामोडदेखि हर्चना कल्भर्टसम्मको सडक पनि समयमा सकिएको थिएन। आशिष(प्रेररा जेभीले ठेक्कामा लिएको यो सडक पटकपटक म्याद थप्दा मात्र निर्माण सम्पन्न भएको थियो। यो सडक समयमा निर्माण सम्पन्न भयो भने सर्वसाधरणले सास्ती व्यहोर्नबाट मुक्ति पाउने स्थानीय बताउँछन्। सडककै कारण झापावासीका लागि सदरमुकाम टाडा हुँदै आएको छ।

राजमार्गदेखि दक्षिणमा रहेको झापाको सदरमुकाम चन्द्रगढी जान सडककै कारण स्थानीयलाई निकै मुस्किल पर्दै आएको छ। ‘सडक त्यस्तो छ। सदरमुकाम पुग्दा धुलोले पुर्छ। सडककै कारण सदरमुकाम त हाम्रा लागि टाडा हुँदै आएको छ,’ दमकका सर्वसाधारण भुवन न्यौपाने भन्छन्, ‘सडकमा खाल्डाखुल्डी उस्तै छ। दुर्घटना होइन्छ कि भन्ने डर पनि उत्तिकै छ। तर, निकै तलसम्म त चार लेनको सडक बनिसकेछ। बाँकी पनि काम भइरहेको देखिन्छ। धमाधम काम गरेर समयमै काम सक्ने भए हामीलाई पनि सदरमुकाम नजिक हुने थियो । सहजै सदरमुकाम पुग्न सक्ने थियौँ।’(न्युजकारखाना)


प्रतिक्रिया दिनुहोस्