पाकिस्तानी प्रधानमन्त्री इमरान खान भन्छन्ः देश चलाउन पैसा छैन, ऋण बढेको बढ्यै

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  १ : ४६


पाकिस्तानका प्रधानमन्त्री इमरान खानले देश चलाउन पैसा नभएको बताएका छन्।

मंगलबार राजधानी इस्लामाबादमा ‘ट्र्याक एन्ड ट्रेस’ प्रणालीको उद्घाटन गर्दै उनले देश चलाउन पैसा नभएकाले देशलाई ऋण लागेको उल्लेख गरे।

उनले पाकिस्तानमा आम्दानी कम भइरहेको र खर्च धेरै भइरहेकोले समस्या सिर्जना भएको बताए।

आम्दानी कम भएपछि भविष्यको लागि बचत गर्न नसकिएको र लगानीको मामिलामा पाकिस्तान पछाडि परिसकेको उनको भनाइ छ।

खानले भनेका छन्,‘पाकिस्तानमा कर संस्कार कहिल्यै बन्न पाएन। कर छली गर्नु अपराध हो, यसलाई मानिसहरु बुझ्दैनन्। कर तिर्ने संस्कार बसाउनुपर्छ।’

उपनिवेशकालपछि पाकिस्तान स्वतन्त्र हुँदा विदेशीहरुले करको संस्कार नसिकाएको र यहाँका मानिसले विदेशीको जीवनशैली अपनाएको तर कर तिर्न आनाकानी गर्ने भएकाले देशमा अर्थतन्त्र कमजोर बनेको उनको भनाइ छ। बीबीसीहिन्दी


प्रतिक्रिया दिनुहोस्