अमेरिकाले ‘लोकतन्त्र’ सम्मेलनमा ताइवानलाई बोलाएपछि चिढिएको चीनले आलोकप्रिय कदम चाल्नसक्ने

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  १२ : ५७


अमेरिकाले लोकतन्त्रको विषयमा एउटा बृहत सम्मेलनको आयोजना गर्ने भएको छ।

आगामी डिसेम्बर ९ र १० तारिखमा ‘लोकतन्त्रको शिखर सम्मेलन’ भनेर भर्चुअल सम्मेलन हुन लागेको बीबीसीले जनाएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यो सम्मेलनमा उपस्थित हुन ११० देशलाई निम्तो दिएका छन्। तर यो कार्यक्रमको लागि रुस र चीनलाई भने निम्तो दिइएको छैन।

बाइडेनले रुस र चीनलाई निम्तो नदिएपछि अमेरिका र यी देशहरुबीच तिक्ततापूर्ण सम्बन्ध छ भन्ने स्पष्ट हुन्छ। चीनले आफ्नो प्रान्त मान्ने ताइवानलाई पनि अमेरिकाले निम्तो पठाएको छ।

यसको अर्थ अमेरिका अघोषित रुपमा ताइवान स्वतन्त्र होस् भन्ने चाहन्छ। यो घटनाले चीन अमेरिकासँग रुष्ट बन्ने निश्चित छ। ताइवान र हङकङको स्वतन्त्रतासँगै चीन र अमेरिकाबीच प्रविधि, व्यापार तथा मानवअधिकारको विषयमा विवाद छ।

चीन ताइवानलाई आफ्नो भूमि भएको बताउँछ र जहिल्यै भएता पनि ताइवान चीनमै विलय हुने त्यहाँको राष्ट्रपति सी चिनफिङले बताउँदै आएका छन्। चीनबाट अलग्गिन खोजे ताइवानलाई आक्रमण गरेरै कब्जा गर्ने चीनको भनाइ छ।

अमेरिकाले लोकतान्त्रिक देशहरुको सम्मेलनमा ताइवानलाई स्थान दिनुले अमेरिकाले अघोषित रुपमा ताइवानलाई देश मानिरहेको अनुमान गर्न सकिन्छ। हालै अमेरिकी सेना ताइवान नै पुगेका थिए। त्यहाँ उनीहरुले ताइवानका सेनासँग संयुक्त युद्ध अभ्यास गरेका थिए।

त्यतिमात्र होइन अमेरिकी पानी जहाजहरु चीन र ताइवानको समुद्री सीमा सम्म पुग्ने गरेका छन् भने अमेरिकाले ताइवानलाई हतियार बेचिरहेको छ। यसरी चीनको सोच विपरित अमेरिकाले कार्य गरिरहेका बेला ‘लोकतन्त्र’को विषयमा सम्मेलन हुँदा चीनलाई चिढ्याउँदै अमेरिकाले ताइवानलाई निम्तो दिएको हो।

त्यसो त चीनलाई घेर्न भन्दै अमेरिकाले क्वाड समूहको निर्माण गरेको छ। जहाँ अमेरिका, अस्ट्रेलिया, भारत र जापान समावेश छन्। उनीहरुले हिन्दप्रशान्त क्षेत्रमा चीनको आक्रामकताविरुद्ध एक हुने वाचा गरेका छन्। यस्तै अमेरिकी नेतृत्वमै अकस सम्झौता भएको छ। यहाँ पनि अमेरिका, बेलायत र अस्ट्रेलियाले चीनविरुद्ध एक हुने प्रतिवद्धता व्यक्त गरेका छन्।

यसरी चौतर्फी घेराबन्दीमा परिरहेकाबेला अमेरिकाले ताइवान स्वतन्त्र हुनुपर्छ भनेर अघोषित रुपमा कदम चालिरहँदा चीनले पनि पछिल्लो समय ताइवानमा आक्रामक गतिविधि बढाइरहेको छ। चीनले ताइवानलाई क्षति पुग्नेगरी आलोकप्रिय कदम पनि चाल्नसक्ने आंकलन गरिएको छ।

यी गतिविधिहरुबाट चीनको ताइवान कब्जा गर्ने दृढता थप मजबुत हुँदै गएको देखाउँछ। तर ताइवानले चीनको नीति त्यहाँ नचल्ने र आफू एक सार्वभौम मूलुक भएको बताउने गर्दछ।

चीनको खतरासँग जुध्नको लागि भन्दै ताइवानले अमेरिकाबाट हतियारहरु खरिद गरिरहेको छ जसले चीनलाई चिढ्याएको छ। चीनले गत वर्षदेखि ताइवानमाथि आफ्नो आक्रामकता बढाएको छ। पछिल्लो समय चीनले दोहोर्‍याउँदै चिनियाँ युद्धक विमानहरु ताइवानको हवाई क्षेत्रमा घुस्ने गरेका छन्।

गतवर्ष ताइवान अलगाववादीहरुको खतरा बढेको भन्दै चिनियाँ राष्ट्रपति सी चिनफिङले युद्धको लागि हरेक समय तयार रहन जनमुक्ति सेनाहरुलाई निर्देशन दिएका थिए। ताइवानले चीनको नीति नमान्ने बताइरहँदा चिनियाँ सेनाले टापु कब्जा गर्ने युद्ध कलाको अभ्यास गर्नु साथै लडाकु विमान उसको हवाई क्षेत्रमा पठाउनुलाई ताइवान नियन्त्रणमा लिने योजनाको रुपमा हेरिएको छ।

ताइवान चीनकै हिस्सा थियो। तर सन् १९४९ मा चिनियाँ गृहयुद्ध सकिएपछि नै चीन र ताइवानको अलग–अलग सरकार र न्याय प्रणाली छ। तर पछिल्ला वर्षहरुमा चीनले ताइवान आफ्नो भएको बताउँदै आएको छ। बेइजिङले लामो समयदेखि ताइवानको अन्तर्राष्ट्रिय गतिविधिहरु सीमित गर्न खोजिरहेको छ।

बेइजिङले कुनै न कुनै बेला यो टापुलाई आफ्नो क्षेत्रमा गाभिछाड्ने बताएको छ। पछिल्लो समय यस टापु फिर्ता लिन चीनले शक्ति प्रदर्शन गरिरहेको छ। तर ताइवानले आफू स्वतन्त्र मूलुक भएको अडान छाडेको छैन। त्यहाँ चीनको नीति लागू नहुने ताइवानको भनाइ छ। त्यसकारण हालका वर्षहरूमा सो क्षेत्रमा तनाव बढिरहेको छ।

ताइवानले पनि चीनको सम्भावित आक्रमणविरुद्ध युद्ध अभ्यास गरिरहेको छ। रोयटर्स र एजेन्सीको सहयोगमा


प्रतिक्रिया दिनुहोस्