रसुवामा टाटासुमोले पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु, ७ जना घाइते

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ८ : १६


रसुवा। रसुवामा टाटासुमोले पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा चालकसहित सात जना घाइते भएका छन्।

जिल्लाको गोसाईंकुण्ड गाउँपालिका ६ ठाडेबाट धुन्चेतर्फ आइरहेको ना१ज ६१७६ नम्बरको टाटासुमोले धुन्चेबाट ठाडेतर्फ गइरहेका पैदलयात्रीलाई ठक्कर दिएको थियो।

टाटासुमोको ठक्करबाट ठाडेकी ४ वर्षीया बालिका नैनी घलेको मृत्यु भएको छ। उनकी फुपू वर्ष ३० की ऊर्जा घले र दाइ वर्ष ८ का करन घले घाइते भएका छन्। धुन्चेबाट ठाडेतर्फ जाँदै गरेका उनीहरू तीन जनालाई टाटासुमोले ठक्कर दिएको प्रहरीले जनाएको छ।

पैदलयात्रीलाई ठक्कर दिएको सुमो सडकबाट करिब ५० मिटर तल भीरमा खसेको प्रहरीले जनाएको छ। सुमोमा सवार चालकसहित चार जना पनि घाइते भएका छन्।

प्रहरीका अनुसार सुमो चालक जिल्लाको आमाछोदिङ्मो गाउँपालिकाका छिरिङ दोर्जे तामाङ, गाडीमा सवार यात्रु रमेश लोप्चन, याङसेन घले र गाडी साहुँ घाइते भएका छन्। गाडी साहुँको नाम भने खुलेको छैन।

मृतक बालिकासहित ऊर्जा घले, करन घले, सुमो चालक छिरिङ दोर्जे तामाङ र गाडी साहुँलाई उपचारका लागि नुवाकोट लगिएको छ। सुमोमा सवार यात्रु रमेश लोप्चन र याङसेन घलेलाई उपचारका लागि सदरमुकाम धुन्चे ल्याइएको प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताए। मारग्याल्बो घलेलाई सामान्य चोट लागेको र अहिले उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

मंगलबार साँझ करिब सवा ५ बजे सडकमा हिँडिरहेका पैदलयात्री जोगाउन खोज्दा १ ज ६१७६ नम्बरको टाटासुमो अनियन्त्रित भएर दुर्घटना भएको बताइएको छ।

काठमाडौंबाट धुन्चे आउँदै गरेको उक्त सुमो ठाडे नजिकै दुर्घटना भएको हो। सुमो सडकबाट करिब ५० मिटर तल भीरमा खसेको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्