राष्ट्रिय जनगणनाः सिन्धुपाल्चोकका बाढी पीडितहरुको बगरमै गएर विवरण संकलन

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ५ : ३७


सिन्धुपाल्चोक। ‘मेरो गणना, मेरो सहभागीता’ भन्ने नारासहित १२औँ राष्ट्रिय जनगणना जारी छ। यतिबेला गणकहरू गाउँगाउँमा पुगेर विवरण संकलन गरिरहेका छन्।

र, सिन्धुपाल्चोकका केही स्थानमा खटिएका गणकहरू भने बस्तीमा होइन नदी किनारको बगरमा पुगेरसमेत विवरण संकलन गरिरहेका छन्।

सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–५ कि गणक कविता चापागाईं भन्छिन्, ‘इन्द्रावती नदी आसपासका माझी समुदाय घरमा भेटिँदैनन्। जीवन गुजाराका लागि इन्द्रावती बगरमा रहने उनीहरू घरमा नभेटिएपछि ‘इन्द्रावती बगरमै गएर तथ्यांक संकलन गरिरहेको छु।’

पाचँपोखरी थाङपाल गाउँपालिका–४ र ५ मा गणकको काम गर्दै आएकी अप्सरा पण्डितको अनुभव पनि कविताको जस्तै छ। अप्सरा भन्छिन्, ‘दिउँसोको समयमा जाँदा घरमा भेटिनुहुन्न, बिहान बेलुकाको समयमा गएर तथ्याङ्क संकलन गरिरहेको छु।’

कतिपयले विवरण दिनै नमानेको अप्सरा बताउँछिन्। ‘केहीले भने किन टिपाउनुपर्‍यो, अस्ति नै घरधुरी सबै टिपाको हैन। यो टिपेर हामीलाई कसले के ग¥यो भन्दै प्रश्न गर्छन् । विवरण दिन आनकानी गर्छन्’, उनले भनिन्।

तर, चौतारा सांगाचोकगढी नगरपालिका–७ कि गणक विमला तामाङको अनुभव भने फरक छ। रेडियोबाट गणक आउँदैछन् भन्ने सूचना सुनेकाहरूले स्वागत गर्दै खुसीका साथ सबै विवरण टिपाएको उनी बताउँछिन्।

‘जनगणनाको सामान्य सूचनासमेत थाहा नपाएका व्यक्तिले भने विवरण दिन आनकानी गर्छन्’, उनी भन्छन्।

गणनामा परिवार संख्यादेखि लिएर रोजगारीको अवस्था, खानेपानी नेट–ईन्टरनेटदेखि सरसफाइका कुरासम्म सोधिएको चौतारा सागाचोकगढी नगरपालिका–५ कि कविता दाहालले बताइन्।

लामो प्रश्नावली देख्दा कतिपय उत्तरदाताले झन्झट मान्ने गरेका छन् भने कतिपयले जनगणना सहभागितामा चासोसमेत देखाएका छन्। गणकले परिवार संख्यादेखि लिएर जोखिम विपद् लगायतका ८० वटा प्रश्न सोध्ने गर्छन्।

जनगणनाका लागि सिन्धुपाल्चोकमा ११४ सुपरीवेक्षक र ४५६ गणक कर्मचारी खटाइएका छन्। गत २५ कात्तिकदेखि सुरू भएको राष्ट्रिय जनगणना ९ मंसिरसम्म चल्नेछ।


प्रतिक्रिया दिनुहोस्