न्यूजील्याण्डद्वारा इङ्ल्याण्ड १४ रनले पराजित

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ९ : १६


नेल्सन । न्यूजील्याण्डको नेल्सनमा मङ्गलबार सम्पन्न तेस्रो टी२० क्रिकेट प्रतियोगितामा न्यूजील्याण्डले भ्रमणकारी इङ्ल्याण्डलाई १४ रनले पराजित गरेको छ । 

पाँच खेलको यस शृंखलामा यो जितसँगै न्यूजील्याण्ड २–१ ले अघि भएको छ । 

न्यूजील्याण्डले पहिले ब्याटिङ गर्दै सात विकेटको क्षतिमा १८० रन बनाएको थियो ।

टस जितेर पहिलो ब्याटिङ रोजेको न्यूजील्याण्डले कोलिन डी ग्रान्डहोमको व्यक्तिगत ५५, मार्टिन गप्टिलको ३३, रस टेलरको २७ रनको मद्दतले उच्च स्कोर खडा गर्न सफल भएको थियो।

जितका लागि १८१ रनको लक्ष पछ्याएको इङ्ल्याण्डले राम्रो सुरुआत गरे पनि अन्तिम पाँच विकेट १० रनमै गुमाएको थियो ।

पन्ध्रौं ओभरमा १३९ रन बनाउँदा दुई विकेट मात्र गुमाएको र राम्रो लयमा रहेको इङ्ल्याण्डको टोली त्यसपछि नाटकीय रुपमा पतन भएको थियो ।

इङ्ल्याण्डका लागि डाविड मलान (५५) र जेम्स भिन्स (४९) ले राम्रो आधार तयार गरेका थिए । इङ्ल्याण्डले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १६६ रन मात्र बनाएको थियो ।

हारपछि प्रतिक्रिया दिँदै इङ्ल्याण्ड टोलीका कप्तान इयोन मर्गनले आफ्नो टोलीका नयाँ सदस्यहरुमा अनुभवको कमी देखिएको बताउनुभयो । 
 


प्रतिक्रिया दिनुहोस्