‘नेपाल्स सिङ्गिङ्ग सुपरस्टार’ इमेज च्यानलबाट प्रशारण हुने

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  १ : ४७


काठमाडौं । भ्वाइस स्टार नेपाल प्रालिको ब्यानरमा उत्पादन हुन लागेको रियालिटी शो ‘नेपाल्स सिङ्गिङ्ग सुपरस्टार’ लाई ईमेज च्यानल एचडीमा प्रशारण गर्न सम्झौता भएको छ ।

काठमाडौंमा सोमबार एक विशेष समारोहको आयोजना गरी सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ । पत्रमा ईमेज एचडीका तर्फबाट कार्यकारी अधिकृत महेन्द्र विष्ट र नायव महाप्रवन्धक सुरेश शर्मा तथा भ्वाइस स्टार नेपालका तर्फबाट क्रियटिभ डाइरेक्टर रवि श्रेष्ठ र सुरज जोशीले हस्ताक्षर गरेका हुन् ।

‘सिङ्गिङ्ग सुपरस्टार’मा विभिन्न रियालिटी शोमा भाग लिएर पनि आफ्नो सांसगतिक उचाइलाई उचित स्थान दिन नसकेका गायक गायिकालाई स्थान दिन विशेष प्रोत्साहन दिइने सम्झौतामा उल्लेख छ । त्यसमा राजधानी बाहिर रहेर संघर्ष गरिरहेकाहरूलाई छनोट प्रक्रियामा उचित स्थान दिइनेछ ।

पुष महिनाको पहिलो हप्ताबाट शुरु हुने यो प्रक्रिया एक महिना अवधिको हुनेछ । उक्त छनौट प्रक्रिया पछि माघ महिनाको दोश्रो हप्ताबाट नेपालका विभिन्न शहरहरुमा फिजिकल अडिशनको घोषणा हुनेछ ।

दुवै प्रक्रियाबाट छनोट भएका प्रतिस्पर्धीहरूबीच कार्यक्रमको २५ औं शृखलासम्म रोचक भिडन्त हुने बताइएको छ । ‘सिङ्गिङ्ग सुपरस्टार’ विजेताले २५ लाख रुपैयाँ पाउनेछन् । कार्यक्रमको भोटिङ पार्टनर सजिलो पे रहेको छ ।

कार्यक्रमको प्रचार अभियानका लागि डिजिटल मिडियामा चाँडै नै गेस द जजेज क्याम्पेन सुरु गर्न लागिएको दुवै संस्थाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्