बबई नदीमा माछाका भुरा छाडियो

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  १० : ०६


नदीको पर्यावरणीय सन्तुलन कायम राख्न दाङको बबईमा माछाका भुरा छाडिएको छ।

भेटेरिनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्रले विश्व मत्स्य दिवसका अवसर पारेर आज घोराही उपमहानगरपालिका–५ धर्नाको सिसहनियास्थित बबई नदीमा माछाका भुरा छोडिएको हो।

माछापालनलाई व्यावसायिक बनाउनेतर्फ मात्रै भन्दा पनि खोला नदीको पर्यावरणीय अवस्थालाई सन्तुलनमा राख्न आवश्यक रहेको केन्द्रका प्रमुख डा वेदबहादुर केसीले बताउनुभयो।

रहुु र नैनी जातका ६ हजार माछाका भुरा बबई नदीमा छोडिएको हो। नदीको पर्यावरणीय सन्तुलन कायम गर्न र नदीमा माछाको सङ्ख्या बढाउन भुरा छोडिएको डा केसी बताउनुहुन्छ।

नदीको जैविक विविधता कायम गर्न, पानी शुद्ध राख्न र पानीमा अक्सिजनको मात्रा बढाउन माछाको भूमिका महत्वपूर्ण हुने भएकाले माछा छोडिएको विज्ञ केन्द्रका मत्स्य विकास अधिकृत महेन्द्रप्रसाद यादवले बताउनुभयो।

नदीमा माछाका भुरा छोड्ने र नदीको पानीलाई स्वच्छ बनाउनतिर ध्यान दिनुपर्ने बताउनुभयो।

जथाभावी उत्खनन, उद्योगबाट निस्कने रासायनिक पदार्थ, फोहोरमैला, विद्युतीय करेन्टलगायतबाट पनि खोलालाई जोगाउनुपर्ने उहाँले बताउनुुभयो। खोलामा विषादी हाल्ने र प्रदूषण बढ्दै जाँदा त्यसको असर नदीका माछा तथा अन्य जीवमा परेको उहाँको भनाइ छ। रासस


प्रतिक्रिया दिनुहोस्