ऋण तिर्न इच्छाराजलाई ३५ दिने सूचना, सुन्धाराको सिटिसी मल लिलाम गर्ने चेतावनी

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  २ : ४९


काठमाडौं। कर्मचारी सञ्चयकोषले सिभिल बैंकका पूर्वअध्यक्ष इच्छाराज तामाङलाई ऋण तिर्न ३५ दिने सूचना जारी गरेको छ।

सो अवधिभित्र ऋण नतिरेमा धितो राखिएको सुन्धारास्थित ६ रोपनी जग्गा र सोमा निर्माण भएको पसल कवलहरु लिलामी/बिक्री गरी असुल गरिने कोषले जनाएको छ।

साथै उक्त धितो लिलामीबाट सम्पूर्ण ऋण रकम र अन्य रकम अशुल उपर नभएमा कानुनबमोजिम ऋणी तथा जमानी दिनेको अन्य चल, अचल सम्पत्तिबाट असुल उपर गरिने कोषले जनाएको छ।

‘३५ दिनभित्र साँवा-ब्याज, हर्जाना चुक्ता नगरे प्रचलित ऐन कानुनबमोजिम धितोमा रहेको चल अचल सम्पत्ति लिला बिक्री गरी कारबाही गरी असुल उपर लिने छ,’ सूचनामा भनिएको छ, ‘उक्त लिलाम बिक्रीबाट समेत असुल नभएमा जमानी दिनेको चल अचल सम्पत्तिबाट असुल गरिने छ।’

ऋणको सावाँ र ब्याज रकम भुक्तानीको लागि दिइएको भाका नाघेको भन्दै कोषले ३५ दिनभित्रै ऋण तिर्न नआए सिभिल मल लिलामी गर्ने बताएको हो।

सुन्धारास्थित ६ रोपनी जग्गामा रहेको मलको सञ्चालकमा इच्छाराज तामाङ, केशवलाल श्रेष्ठ र प्रविण मुखिया छन्। ८२ हजार ९५ वर्गफिटको सो मलमा १३२ पसल कबल उपलब्ध छन्।

मल धितोमा राखेर ऋण लिँदा तामाङ, श्रेष्ठ र मुखियासहित लालकाजी गुरुङ, रामकृष्ण पौडेल, हरिहरप्रसाद लामिछाने, प्रविणप्रसाद प्रधान र सुमन नन्दन वैद्य जमानीकर्ताका रुपमा छन् । कोषका अनुसार कम्पनीले करिब २० करोड रूपैयाँ ऋण तिर्न बाँकी छ।


प्रतिक्रिया दिनुहोस्