बैतडी जिप दुर्घटना अपडेटः घाइते तीन जनालाई अस्पताल पुर्‍याइयो

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ९ : ५१


बैतडी। बैतडी जिल्ला सदरमुकाम गोठलापानीस्थित कलुवाडमोडमा जन्ती बोकेको जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा तीन जना घाइते भएका छन्। उनीहरूलाई जिल्ला अस्पताल पुर्‍याइएको छ।

बैतडीको दशरथचन्द नगरपालिका–२ थलालगाउँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका–६ सिमायलतर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जिप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्डअन्तर्गत दशरथचन्द नगरपालिका–४ कलुवाड मोडमा दुर्घटनामा परेको हो।

आइतबार राति साढे आठ बजेतिर भएको जिप दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

राति भिरमा जिप अड्किएकाले घटनाको यकिन विवरण अझै आउन सकेको छैन।

कलुवाड मोडको माथिको सडकबाट खसेको जिप तल्लो सडकसमेत पार गरेर सल्लाको रुखमा अड्किएको थियो। जिपमा ७ जना सवार रहेको प्रारम्भिक जानकारी आए पनि अझै यकिन हुन सकेको छैन।

जिप सडकबाट करिब दुई सय मिटर तल खसेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्