आजका मूख्य खबर: ओलीलाई चुनौती बने रावल, प्रस्तावित राजदूतमाथि सुनुवाइ अलमल

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ८ : ४२


संसदीय सुनुवाइ समितिको बैठक कोरम नपुगेर स्थगित

भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरुको सुनुवाइका लागि बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक कोरम नपुगेर स्थगित भएको छ। आइतबार सिंहदरबारमा बोलाइएको समितिको सो बैठक कोरम नपुगेपछि आगामी १७ मंसिरमा बस्ने गरी स्थगित गरिएको हो।

कोरम नपुगेपछि समितिको बैठक आगामी १७ मंसिरमा बस्ने गरी स्थगित गर्नुपरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए। उनले एमाले र कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरू महाधिवेशनका कारण उपस्थित हुन नसक्दा समितिको बैठक बस्नका लागि आवश्यक कोरम पुग्न नसकेको स्पष्ट पारे।

जनगणना ८० प्रतिशत सकियो, लिम्पियाधुराको अन्योल कायमै

१२औँ राष्ट्रिय जनगणनाअन्तर्गत मूल गणनाको काम करिब ८० प्रतिशत सकिएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ।

२५ कात्तिकमा सुरु भएको जनगणनाको मूल गणना ९ मंसिरसम्म चल्नेछ। विभागका अनुसार हिमाली भेगका धेरैजसो स्थानमा जनगणनाको काम सकिएको छ। अन्य भेगमा समेत करिब ८० प्रतिशत गणना सकिएको अनुमान गरिएको छ।

जनगणना सकिन चार दिन बाँकी छँदासम्म दार्चुलाको लिपुलेक (लिम्पियाधुरा) कालापानीमा जनगणना कसरी गर्ने भन्ने विषय भने अझै अन्योलमा छ।

यस क्षेत्रको जनगणना के हुने भन्ने विषयमा टुंगो नलागेको विभागले जनाएको छ। विभागले यहाँ गणक पुगेर जनगणना गर्ने वातावरण नभए अनुमानमा आधारित रहेर जनगणना गर्ने बताएको छ।

ए डिभिजन लिगः दिनेशको दुई गोलमा ब्रिगेडको विजयी सुरुवात

शहीद स्मारक ए डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लबले आइतबार नेपाल एपीएफ क्लबलाई ३(२ ले पराजित गर्दै विजयी सुरुवात गरेको छ। प्रतिस्पर्धात्मक खेलको इन्जुरी टाइममा गोल गर्दै ब्रिगेडले ३ अंक जोडेको हो।

ब्रिगेडको जीतमा दिनेश राईले २ तथा सुरज गुरुङले १ गोल गरे। एपीएफका आशिष लामा र बीके तामाङले गोल फर्काए।

एमाले अध्यक्षमा उम्मेदवारी दिने भीम रावलको घोषणा

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको आसन्न १०औँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

यससँगै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निर्विरोध बनाउने प्रयास असफल हुने देखिएको छ। पछिल्लो समय ओली निकट मात्र होइन, १० बुँदे सहमति गरेर एमालेमा बसेकै कतिपय नेताहरूले समेत ओलीको विकल्प नभएको बताएका थिए।

चीनको राजदूतमा समाजवादीको दाबी, जापान र अस्ट्रेलियामा माओवादी अलमल

११ कात्तिकमा सरकारले भारत, अमेरिका र बेलायतको राजदूतका लागि तीन जनाको नाम सिफारिस गर्‍यो। झण्डै एक महिनाअघि सरकारको सिफारिसमा परेकाहरूको सुनवाइ ५ मंसिर (आइतबार)मा थियो। तर, सुनुवाइका लागि संसदीय सुनवाइ समितिमा कोरम नपुगेपछि उनीहरूको सुनुवाइ हुन सकेन, जसले गर्दा नियुक्ति प्रक्रिया लम्बिएको छ।

५ असोजमा सरकाले राजनीतिक नियुक्तिमार्फत राजदूत भएकाहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका ११ राजदूतलाई फिर्ता बोलाउने निर्णयपछि ३३ मध्ये २३ देशका राजदूत रिक्त भएका थिए।

त्यसमध्ये तीन देशमा राजदूत नियुक्तिका लागि सिफारिस भए पनि बाँकी देशका लागि भने सत्ता गठबन्धनका दलहरूबीच अझै कुरा मिलेको छैन। कांग्रेसले आफ्नो कोटाबाट भारतमा डा.शंकर शर्मा, अमेरिकामा डा। श्रीधर खत्री र बेलायतमा डा.ज्ञानचन्द्र आचार्यलाई सिफारिस गर्‍यो। खास शक्तिकेन्द्र मानिएका देशमा कांग्रेसले एकलौटी राजदूत सिफारिस गरेपछि माओवादी केन्द्र र एकीकृत समाजवादी त्यसप्रति सन्तुष्ट देखिएका छैनन्।

म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक ओले बर्खास्त

म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षकबाट ओले गुन्नार सोलस्कजाएर बर्खास्त भएका छन् । क्लबको प्रदर्शन लगातार खस्केपछि क्लबको बोर्ड बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो।

गए राति म्यानचेस्टर युनाइटेडले वाटफोर्डसँग ४-१ को लज्जास्पद हार बेहोरेको थियो । यति मात्र होइन, खेलेका पछिल्ला पाँचमध्ये चार खेलमा युनाइटेड पराजित भएको थियो।

देउवाले उद्घाटन गरेको पतञ्जली टीभीमा विभागको छापा, कागजातहरू नियन्त्रणमा

सूचना तथा प्रसारण विभागले आस्था र पतञ्जली टेलिभिजनमा छापा मारेको छ । विभागका महानिर्देशक गोगनबहादुर हमालले निरीक्षणका लागि टोली पठाएको पुष्टि गरे।

हमालले उक्त टोलीले दिने प्रतिवेदनको आधारमा निर्णय लिइने बताए । अनुगमन टोलीले आस्था र पतञ्जली टेलिभिजनको केही महत्त्वपूर्ण कागजातसमेत निणन्त्रणमा लिएको छ।

शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालसमेतको उपस्थितिमा सो टीभीको काठमाडौंस्थित कार्यालयको उद्घाटन गरेका थिए।

काठमाडौंमा प्रकाशमान-गगन हाबी, जिते २० मध्ये १८ क्षेत्र

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको अधिवेशनमा यसपालि पनि काठमाडौंमा आफ्नो पकड कायमै राखेका छन्।

अहिलेसम्म भएका वडा, पालिका र प्रदेशसभा निर्वाचन क्षेत्रमा सिंह र केन्द्रीय सदस्य गगन थापा निकट नेताहरू नेतृत्वमा पुगेका छन्।

काठमाडौंका २० प्रदेशसभा क्षेत्रमा शुक्रबार र शनिबार अधिवेशन भएकामा १८ क्षेत्र सिंह(थापा निकटले जितेका छन्।

भीमसेनदास प्रधान निकटले जम्मा २ प्रदेशसभा क्षेत्र जितेको स्रोतको दाबी छ। प्रधानको टिमलाई सभापति शेरबहादुर देउवाले पनि समर्थन गरेका थिए।

सर्वोच्चमा तोकियो सबै मुद्दामा पेसी

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बन्दी प्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन्।

उनले आज १० वटा संयुक्त र एउटा एकल इजलासमा ३३४ वटा मुद्दामा पेसी तोकेका हुन्। उनले आफ्नालागि भने कुनै पनि पेसी तोकेका छैनन्।

प्रधानन्यायाधीश जबरासहित सर्वोच्चका सम्पूर्ण न्यायाधीशको बिहीबारको पूर्ण बैठक (फुल कोर्ट)ले गोला प्रणालीसहित नियमावली पास गर्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि न्यायाधीश इजलासमा बसेर न्यायसम्पादन कार्यमा लागेका हुन्।


प्रतिक्रिया दिनुहोस्