समवेदना दिन नेता नेपाल उदयपुरमा

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ८ : २१


उदयपुर। नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको अध्यक्ष माधवकुमार नेपाल र प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले पुत्रशोकमा परेका उदयपुरको त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरीलाई घरमै पुगेर समवेदना दिएका छन्।

अध्यक्ष नेपाल र मुख्यमन्त्री राईले त्रियुगा नगरपालिका–११ गाईघाटस्थित घरमै पुगेर चौधरी र परिवारजन प्रति समवेदना दिएका हुन्।

शनिबार पिकनिक जाँदा पौडी खेल्ने क्रममा डुबेर नगर प्रमुख चौधरीका २८ वर्षीय छोरा पशु चिकित्सक मनोज चौधरीको मृत्यु भएको थियो।

पुत्रशोकमा परेका पार्टीका प्रदेश १ को अध्यक्षसमेत रहेका नगर प्रमुख चौधरीलाई अध्यक्ष नेपाल र मुख्यमन्त्री राईले सान्त्वना दिएका थिए।

नगर प्रमुख चौधरी पुत्रको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाई श्रद्धाञ्जली अर्पण गरिएको थियो। अध्यक्ष नेपाल शव यात्रासँगै त्रियुगा नदीको घाटसम्मै पुगेका थिए।

हेलिकप्टरबाट पौने १२ बजे गाईघाट उत्रिएका नेपाल करिब तीन घण्टा बिताएर समवेदना प्रकट गरी काठमाडौं फर्किएका थिए। समवेदना बाहेक कार्यकर्ता भेटघाट तथा अन्य कार्यक्रमहरू केही नगरिएको पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। प्रवक्ता खतिवडा पनि अध्यक्ष नेपालसँगै आएका थिए।

समवेदना दिन प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई, नेकपा (माओवादी केन्द्र) का संघीय सांसद सुरेशकुमार राई, प्रदेश १ का भौतिक पूर्वाधार तथा योजना मन्त्री हिमाल कार्की तथा सांसदहरूको सहभागिता थियो।


प्रतिक्रिया दिनुहोस्