क्यूआर कोड र ई-सेवाबाट एमालेले उठायो २० लाख चन्दा

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ५ : ३१


काठमाडौं। नेकपा एमालेले आसन्न १०औं महाधिवेशनका लागि क्यूरआर कोड र ई(सेवामार्फत २० लाख रुपैँया चन्दा संकलन गरेको छ।

एमालेले गत २६ कात्तिकमा पार्टीका संगठित सदस्यहरूबाट चन्दा उठाउने प्रयोजनका लागि नेपाल राष्ट्र बैंक टेकुमा रहेको खाता नम्बरसँगै क्यूआर कोड सार्वजनिक गरेको थियो।

एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार नौ दिनको अवधिमा कार्यकर्ताले क्यूआरकोड र ई-सेवामार्फत २० लाख रुपैयाँ जम्मा गरिसकको जानकारी दिए।

उनका अनुसार अधिकांश संगठित सदस्यले १०० रुपैयाँका दरले र प्रवासमा रहेका नेपालीले इच्छाअनुसार रकम पठाइरहेको जानकारी दिए।

‘हालसम्म क्यूआर कोड र ई-सेवाबाट २० लाख रुपैयाँ जम्मा भएको छ, यो ठ्याक्कै हिसाब होइन, खातामा थप रकम पनि जम्मा भएको छ, हिसाब सार्वजनिक गर्छौ’, तामाङले न्युज कारखानासँग भने।

एमालेले कार्यकर्ता र सुभेच्छुकलाई न्युनतम १०० रुपैयाँ बैंक खातामा जम्मा गर्न आग्रह गर्दै खाताको क्यूआर कोड सार्वजनिक गरेको हो।

महाधिवेशनका लागि लोगो सार्वजनिकसँगै एमालेले चन्दा प्रयोजनका लागि क्यूआर कोडसँगै ई(सेवा र फोनपेबाट न्युनतम १०० रुपैयाँ जम्मा गर्न भनेको थियो।


प्रतिक्रिया दिनुहोस्