भीम रावलद्वारा एमाले अध्यक्षमा उम्मेदवारी घोषणा

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ३ : ४४


काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष डा.भीमबहादुर रावलले १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।

आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष रावलले औपचारिक उम्मेदवारी घोषणा गरेका हुन्।

रावलले सम्पूर्ण नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरुमा सहयोग र समर्थनका लागि आह्वान गरेका छन्। ‘अध्यक्षको पदमा मलाई आफ्नो अमूल्य मत प्रदान गरी पार्टीलाई नयाँ चरणको प्रगति र सशक्त भूमिकामा अघि बढाउन तथा नेपाल नेपाली जनताको आकांक्षा, प्रगति र परिवर्तनको नेतृत्व गर्ने अवसर दिनहुन सम्पूर्ण प्रतिनिधि कमरेडहरुलाई हार्दिक अनुरोध गर्दछु,’ उनले भने।

पार्टीलाई सुदढ र प्रभावकारी तुल्याउने, प्रतिस्पर्धाका सबै मोर्चाहरुमा पार्टीलाई सफल र विजयी बनाउने तथा राष्ट्रिय राजनीतिको प्रमुख चालकको रुपमा अगाडि बढाउने दृढ अठोट लिएको रावलले उल्लेख गरेका छन्।

‘मैले विजय र पराजयको अर्थमा भन्दा आफ्ना धारणा र मान्यतालाई महत्व दिएको छु तथा कुनै व्यक्ति विशेष प्रति कुनै आग्रह राखेको छैन। पार्टी एकताका लागि १०–बुँदे सहमति गरिरहँदा पनि मैले देश, जनता र पार्टीको हितका लागि अवलम्बन गर्दै आएको विचार कै पक्षपोषण गरेको हुँ, तिनलाई परित्याग गरेको छैन वा कहीं समर्पण गरेको छैन। कुनैपनि पनि इमान्दार पार्टी नेताले त्यसो गर्नपनि सक्दैन। यही विचार र मान्यता अनुरुप नै मैले आफ्नो उम्मेदवारीको घोषणा गरेको छु’, उनले भने।


प्रतिक्रिया दिनुहोस्