प्रहरीलाई झुक्याएर लगाएको ५० हजारभन्दा बढी गाँजाको बोट फडानी

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ३ : ००


सिरहा। सिरहा प्रहरीले छुट्टाछुट्टै स्थानबाट ठूलो परिमाणमा अवैध रुपमा खेतमा लागाएको गाँजा फडानी गरेको छ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले मिर्चैया नपा ७, ८ र ९ नम्वर वडा र गोलबजार नपाको ७, ८ र १० नम्बर वडाको करिब १० विगाहा जमिनबाट ४५ हजारभन्दा बढी गाँजाको बोट फडानी गरी आगजनी गरेको हो।

अवैधरुपमा लगाएको गाँजा फडानी गर्ने अभियानअन्तर्गत फल लाग्नुभन्दा अगावै फडानी गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले जानकारी दिए।

अहिले नै नष्ट गर्दा प्रहरीलाई पनि हैरानी कम हुने र किसान पनि निरुत्साहित उनले बताए।

यस क्षेत्रका किसानहरुले प्रहरीलाई झुक्याउन चारैतर्फ उखु, रहर, तरकारी खेती लगाएर बीचको भागमा गाँजा लगाउने गरेको पाइएको प्रहरीको भनाइ छ।

कतिपयले करेसाबारी तथा आँगनमासमेत गाँजाको विरुवा लगाउने गरेका छन्।


प्रतिक्रिया दिनुहोस्