राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सातै प्रदेशका नयाँ प्रमुखहरु नियुक्त

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ३ : २८


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशका नयाँ प्रमुखहरु नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले देउवा सरकारले नियुक्त गरेका सातै प्रदेश प्रमुखहरुलाई एकसाथ पदमुक्त गरेपछि सातै प्रदेशका प्रमुखको पद रिक्त भएका थिए ।

रिक्त प्रदेश प्रमुखका लागि नेकपाको सचिवालय बैठकको सिफारिसमा मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुखहरुको नियुक्तिको निर्णय गरेर राष्ट्रपतिसमक्ष नाम पठाएको थियो । संविधानको धारा १६३ को २ बमोजिम राष्ट्रपति भण्डारीले सोमबार साँझ कास्कीका सोमनाथ अधिकारी ‘प्यासी’लाई प्रदेश १, बाँकेका तिलक परियारलाई प्रदेश २, झापाका विष्णु प्रसाईंलाई प्रदेश ३ र चितवनका अमिक शेरचनलाई गण्डकी, सिराहाका धर्मनाथ यादवलाई प्रदेश ५, बैतडीका गोविन्द कलौनीलाई कर्णाली प्रदेश र काठमाडौंकी शर्मिला पन्तलाई सुदुरपश्चिम प्रदेशको प्रमुखमा नियुक्त गरेकी हुन् । 

राष्ट्रपति  भण्डारीले मंगलबार शपथ गराएपछि उनीहरुले प्रदेश प्रमुखको जिम्मेवारी सम्हाल्ने बताइएको छ । प्रदेश प्रमुखलाई राष्ट्रपतिले शपथग्रहण गराउने संवैधानिक व्यवस्था छ । मन्त्रिपरिषद्को आइतबारको बैठकले पूर्ववर्ति शेरबहादुर देउवा सरकारले नियुक्त गरेका सातैजना प्रदेश प्रमुखलाई हटाउने निर्णय गरेको थियो ।
 


प्रतिक्रिया दिनुहोस्