देश विकासमा व्यवधान खडा गर्न एमाले नेतृत्वको सरकार भत्काइयो: अध्यक्ष ओली

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ९ : १०


काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकासमा व्यवधान खडा गर्न जनताबाट निर्वाचित दलको सरकार भत्काएर अर्को सरकार गठन गरिएको बताएका छन् ।

एमाले काठमाडौं महानगरपालिका कमिटीले शनिबार यहाँ आयोजना गरेको नेपाल संवत् ११४२ को शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष ओलीले सो कुरा बताए । एमाले नेतृत्वको सरकारविरुद्ध सबै दल लागेर कठपुतली सरकार निर्माण गरेको उनले टिप्पणी गरे । वर्तमान सरकारले जनताको विश्वास जित्नेगरी काम गर्न नसक्ने उनले बताए ।

‘जनताद्वारा निर्वाचित बहुमत प्राप्त सरकार ढलाएर लोकतन्त्रको हुर्मत र संविधानको धज्जी उडाउने काम गरिएको छ’, एमाले अध्यक्ष ओलीले थपे, ‘अन्तैबाट बनेको सरकारले प्रतिनिधिसभा संसद् बैठकमा विश्वासको मत लिने काम गरेर लज्जास्पद काम गरेको छ।’

उनले सरकार बनाउने थलो संसद् भए पनि सांसदको मतबाट सरकार गठन हुनुपर्ने यस पटक अन्तैबाट गठन भएको बताए। ‘परमादेशले सरकार बन्यो । योभन्दा ठूलो जनताको अपमान के हुन्छ रु यो सरकारले केही काम गर्नेवाला छैन’, उनले भने।

मन्त्री बनाउन, यसअघिको सरकारले नियुक्त गरेका राजदूत, कर्मचारी हटाउनमै वर्तमान सरकार व्यस्त रहेकाले जनताको पक्षमा काम गर्न नसक्ने उनले टिप्पणी गरे । एमालेविरुद्ध पाँच दलीय गठबन्धन बनेको भए पनि यस्ता दश वटा दलको गठबन्धन बने पनि एमालेलाई केही फरक नपर्ने उनले बताए।

काठमाडौं उपत्यका जीवित संग्रहालय भएको चर्चा गर्दै अध्यक्ष ओलीले नेपाल देश प्राकृतिक सम्पदा, मानव निर्मित सम्पदाले सुन्दर र धनी रहेको चर्चा गरेका थिए।

सभ्यता र संस्कृतिको उदगत देश नेपाल भएको चर्चा गर्दै अध्यक्ष ओलीले भने, ‘यो देश शास्त्र, ज्ञान, संगीत, कला, छन्द, धुन, गीत, नृत्य आदिको उदगत स्थल हो।’


प्रतिक्रिया दिनुहोस्