थ्री स्टारका तीन डिफेण्डरले गोल गर्दा च्यासल पराजित

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ७ : १४


काठमाडौं। तीन डिफेण्डरको तीन गोलसँगै तीन पटकको ए डिभिजन च्याम्पियन थ्री स्टार क्लबले सहिद स्मारक ए डिभिजन लिगमा विजयी सुरुवात गरेको छ।

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा थ्री स्टारले च्यासल यूथ क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै महत्त्वपूर्ण तीन अंक जोडेको हो।

थ्री स्टारको जितमा डिफेण्डर निशान खड्का, राफायल बिडीयास रिम र अनन्त तामाङले एक एक गोल गरे। थ्री स्टारले तिनै गोल सेट पिसमा भएको थियो ।

यता, पहिलो हाफमा च्यासलले पाएको पेनाल्टी सदुपयोग गर्न सकेन। इटालियन मूलका विकास मेराग्लीयाको प्रहार थ्री स्टारका गोलरक्षक प्रीसोले बन्च गरेका थिए।

खेलको २२औं मिनेटमा निशानले करिब ३० यार्डबाट फ्रिकिकमा आकर्षक गोल गरेका थिए। ४४औं मिनेटमा रिमले हेड मार्फत २(० को अग्रता बनाए। खेलको ५८ औं मिनेटमा अनन्तले गोल गर्दै थ्री स्टारलाई ३–० को जित दिलाए।

जितसँगै थ्री स्टारले पहिलो खेलमै महत्त्वपूर्ण ३ अंक जोडेको छ। थ्री स्टार तालिकाको शीर्ष स्थानमा रह्यो। च्यासलले भने हारबाट सिजनको सुरुआत गरेको छ।

आजनै भएको पहिलो खेलमा हिमालयन शेर्पा क्लब र संकटा क्लबले १–१ गोलको बराबर खेल्दै अंक बाढे।

लिग अन्तर्गत आइतबार दुई खेलहरू हुनेछ। पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबले एपीएफ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लबले जावलाखेल यूथ क्लबसँग खेल्नेछ।


प्रतिक्रिया दिनुहोस्