माधव नेपाल जनकपुर जाँदै, दुई मन्त्रालयसहित नेकपा एस प्रदेश सरकारमा जाने

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  १२ : १५


महोत्तरी। प्रमुख दलका शीर्ष नेताहरु पछिल्लो समय प्रदेश(२ केन्द्रीत हुन थालेका छन्।

नेकपा एमालेका उपमहासचिव विष्णु पौडेल, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु कार्यक्रम गरेर फर्किएसँगै नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल पनि जनकपुर आउने भएका छन्।

७ मंसिरमा अध्यक्ष नेपाल जनकपुर आउने तय भएको नेकपा एस प्रदेश २ कमिटीले जनाएको छ।

अध्यक्ष नेपालले ७ गते तिनकोरियामा पार्टीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै विभिन्न पार्टी परित्याग गरी नेकपा एसमा प्रवेश गर्ने २ सयभन्दा बढी नेता, कार्यकर्तालाई स्वागत गर्ने र भोलिपल्ट ८ मंसिरमा लहानको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यतालिका तय भएको नेकपा एस प्रदेश २ का अध्यक्ष धर्मदेव साहले जानकारी दिए।

८ गते नै अध्यक्ष नेपाल जनकपुर फर्किएर प्रदेश कमिटीको कार्यालयको औपचारिक उद्घाटन गरेर संघीय राजधानी फर्कने कार्यक्रम रहेको अध्यक्ष साहको भनाइ छ।

यसैबीच नेकपा एस प्रदेश२ को सरकारमा सहभागी हुने भएको छ।

एसले सरकारमा सहभागी भएर उद्योग वन तथा वातावरण मन्त्रालय र कानुन तथा प्रदेश मामिला मन्त्रालयको नेतृत्व गर्ने तय भएको अध्यक्ष धर्मदेव साहले जानकारी दिए।

वन तथा वातावरण मन्त्रालयमा शत्रुधन महतो र कानुन तथा प्रदेश मामिला मन्त्रालयमा प्रमोद यादव र राज्यमन्त्रीमा नागेन्द्र साहलाई पठाउने सहमति भइसकेको पनि उनको भनाइ छ।

भोलि नै नेकपा एसबाट सिफारिस भएका मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रम रहेको नेकपा एसले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस्