गोरखा सैनिकलाई समान पेन्सन दिनेबारे बेलायती संसदमा बहस हुने

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ९ : ५०


काठमाडौं। गोरखा भूतपूर्व सैनिकहरुलाई समान पेन्सन दिन माग गर्दै बेलायती संसदमा सर्वसाधारणले बुझाएको हस्ताक्षरमाथि सोमबार बहस हुने भएको छ।

विनेपालीका अनुसार साँझ ६ बजे हुने सो बहसमा हस्ताक्षर समितिका सदस्य सांसद जोनाथन जुलिसले बहसको आरम्भ गर्नेछन् र त्यसपछि सबै पार्टीका सांसदहरुले बहसमा आफ्ना धारणा राख्नेछन्।

सांसदहरुले उठाएको प्रश्नको जवाफ सरकारको प्रतिनिधित्व गर्ने मन्त्रीले दिन पर्नेछ।

सो बहस प्रत्यक्ष रुपमा हेर्न भने सो हस्ताक्षर अभियानका शुरुवातकर्ता रोय बिङ्कलेले मात्र पाउनेछन् तर घरमै बसेर पार्लियामेण्ट टिभीबाट लाइभ पनि हेर्न सकिने छ।

गत जुलाईमा बिङ्कलेले गोरखाहरुलाई ब्रिटिश समकक्षीसरह पेन्सन दिन माग गर्दै अनलाइन हस्ताक्षर संकलन अभियान शुरु गरेका थिए। छोटो समयमै सो अभियानमा १ लाख ६ हजारले समर्थन जनाएका थिए।

बेलायतमा निश्चित संख्यामा सर्वसाधारणले हस्ताक्षर संकलन गरेपछि संसद र सरकारले जवाफ दिनपर्ने प्रावधान छ।

सरकारले सो हस्ताक्षर अभियानको प्रतिक्रिया दिँदै अगष्ट १९ मा गोरखाहरुलाई भेदभाव नगरिएको जिकिर गरे।


प्रतिक्रिया दिनुहोस्