उपनिर्वाचन : उम्मेदवार छान्दै दल

प्रकाशित मिति : जेष्ठ २९, २०७८ शनिबार


काठमाडौँ । आउँदो मङ्सिर १४ गते बागलुङ-२ (ख)मा हुने उपनिर्वाचनका लागि दलहरु उम्मेदवार छनोटको अन्तिम कसरतमा जुटेका छन्। मुख्य प्रतिस्पर्धी मानिएका नेपाली काङ्ग्रेस र राष्ट्रिय जनमोर्चाकै उम्मेदवारको टुङ्गो लागेको छैन। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले भने राजमोका उम्मेदवारलाई सघाउने निर्णय गरेको छ।

नेपाली काङ्ग्रेस बागलुङका सभापति दीपेन्द्र थापामगरले भोलिसम्ममा उम्मेदवारको अन्तिम टुङ्गो लाग्ने बताउनुभयो। नेपाली काङ्ग्रेसबाट महाधिवेशन प्रतिनिधि जीतबहादुर शेरचन, क्षेत्रीय सभापति दोर्ण कुँवर, महाधिवेशन प्रतिनिधि टेकराज पौडेल र तुलासिंह घर्ती सम्भावित उम्मदेवारको सूचीमा हुनुहुन्छ।

नेकपासँगको तालमेलमा उपनिर्वाचन लड्न लागेको राष्ट्रिय जनमोर्चाले पनि आजै साँझ या भोलिसम्ममा उम्मेदवार तोकिने जनाएको छ। “जिल्लाको राय, सुझाव र सिफारिसका आधारमा पार्टी केन्द्रले उम्मेदवारबारे अन्तिम निर्णय गर्छ”, राजमो बागलुङका अध्यक्ष अमर थापाले भन्नुभयो। 

नेकपासँग तालमेल हुने भएपछि उम्मेदवार छनोटको विषय थप पेचिलो बनेको उहाँको भनाइ छ । अघिल्लो चुनावमा पनि वाम गठबन्धनको बलमा राजमोले उक्त क्षेत्रमा विजय हासिल गरेको थियो । राजमो जिल्ला समिति बैठकले सम्भावित उम्मेदवारका रूपमा गत वर्ष निधन हुनुभएका प्रदेशसभा सदस्य टेकबहादुर घर्तीकी पत्नी सुनमाया घर्ती, जिल्ला उपाध्यक्ष धर्मबहादुर कुँवर र जिल्ला सदस्य खिमविक्रम शाहीको नाम सिफारिस गरेको थियो।

समाजवादी पार्टीले भने अशोककुमार विकलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । अन्य साना दल पनि उम्मेदवार छनोटको तयारीमा छन् । उपनिर्वाचन हुन लागेको क्षेत्रबाट प्रदेशसभा सदस्यमा राजमोका टेकबहादुर घर्ती विजयी हुनुभएको थियो । घर्तीको गत वर्ष निधन भएपछि रिक्त रहेको प्रदेशसभा सदस्य पदमा उपनिर्वाचन हुन लागेको हो ।

उम्मेदवारको टुङ्गो लागेपछि चुनावी अभियानलाई तीव्र बनाउने तयारीमा दलहरु छन् । निर्वाचन आयोगले उम्मेदवारी दर्ताको मिति यही कात्तिक २१ गतेलाई तोकेको छ । प्रदेशसभा सदस्यसँगै जिल्लाको बडिगाड गाउँपालिका–२ मा पनि वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ । वडाध्यक्षमा निर्वाचित विष्णुप्रसाद भुसाल जिल्ला समन्वय समितिको उपप्रमुख भएपछि उक्त वडामा पनि उपनिर्वाचन हुन लागेको हो ।

वडाध्यक्षको चुनावका लागि नेकपाले ढालेन्द्र शेरचन र नेपाली काङ्ग्रेसले दिलबहादुर रानालाई उम्मेदवार बनाएका छन् । अन्य दलले भने उम्मेदवारको टुङ्गो लगाउन बाँकी छ । दुवै पदमा हुने उपनिर्वाचनका लागि ३६ हजार ९२६ मतदाताको अन्तिम नामावली टुङ्गो लागेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । उपनिर्वाचनका लागि २५ मतदानस्थल र ४५ मतदान केन्द्र तोकिएको छ। 

दाङ क्षेत्र नं ३ मा तयारी तीव्र

दाङ – आगामी मङ्सिर १४ गते दाङमा हुन गइरहेको उपनिर्वाचनको दाङ क्षेत्र नं ३ ख र घोराही उपमहानगरपालिका–१६ मा चुनावी चहलपहल बढेको छ । अहिले त्यहाँका टोल, चियापसल तथा बजारका चोकचोकमा उपचुनावको चर्चा–परिचर्चा चलेको छ। 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चा र साझा पार्टीले प्रदेशसभा सदस्यका उम्मेदवारको टुङ्गो लगाएका छन् भने नेपाली काङ्ग्रसले उम्मेदवार छनोट गर्न बाँकी छ ।

वडाध्यक्षका लागि नेपाली काङ्ग्रेसले उम्मेदवारको टुङ्गो लगाइसकेको छ । नेकपाले दाङ क्षेत्र नं ३ को (ख) मा प्रदेशसभा सदस्यका लागि बिमला वलीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ भने नेपाली काङ्ग्रेसले अझै उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन । सो क्षेत्रमा उम्मेदवार चयनका लागि जिल्लाबाट १० जनाको नाम सिफारिस गरेका कारण उम्मेदवार छान्न सकस परेको छ । सम्भवतः भोलि टुङ्गो लाग्ने जिल्लाका एक नेताले जनाएका छन्।

त्यसैगरी राप्रपाले प्रदेशसभाका लागि जिल्ला उपाध्यक्ष भूपाल रावत, राष्ट्रिय जनमोर्चाले दिलाराम बुढाथोकी र साझा पार्टीले शिवकुमार चौधरीलाई उम्मेदवार बनाएको छ । समाजवादी पार्टीले डिल्लीबहादुर डाँगीलाई उम्मेदवार चयन गरेको छ। नेकपाबाट उम्मेदवार बन्नुभएका वली सो क्षेत्रका प्रदेशसभा सदस्य स्व उत्तरकुमार वलीकी धर्मपत्नी हुनुहुन्छ । वलीको गत फागुनमा प्रदेशसभाको बैठकबाट फर्कने क्रममा आफ्नै कार दुर्घटना हुँदा निधन भएको थियो।

यसैबीच मङ्सिर १४ गते हुन गइरहेको  उपनिर्वाचनअन्तर्गत दाङमा प्रदेशसभा सदस्य निर्वाचनका लागि  हिजो  मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । घोराहीस्थित जिल्ला वकिल कार्यालयको भवनमा  मुख्य  निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

दाङ देउखुरी जिल्ला अदालतका न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाको अध्यक्षता तथा दाङका प्रजिअ गोविन्दप्रसाद रिजालको उपस्थितिमा कार्यालय स्थापना गरिएको हो ।

सो अवसरमा मुख्य निर्वाचन अधिकृत थापाले  निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र मर्यादितरूपमा सम्पन्न गराउन सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।

दाङ क्षेत्र नं ३ को (ख) मा तुलसीपुर उपमहानगरपमलिका–१, २, १० र ११ वडा त्यस्तै शान्तिनगर, दङ्गिशरण र बबई गाउँपालिका पर्दछन् भने कूल मतदाता ६८ हजार ७१९ रहेका छन् । पुरुष मतदाता ३३ हजार ७७८ महिला मतदाताको सङ्ख्या ३९ हजार ६६० र एक जना तेस्रोलिङ्गी रहेको जिल्ला निर्वाचन कार्यालय दाङका प्रमुख बुद्धिबहादुर खत्रीले जानकारी दिनुभयो ।

प्रदेशसभाका लागि ३२ र वडाका लागि जम्मा दुई गरी जम्मा  ३४  मतदानस्थल निर्धारण गरिएको पनि निर्वाचन कार्यालय दाङका प्रमुख खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशसभाका लागि ७७ र वडाका लागि पाँचवटा गरी जम्मा ८२ मतदान केन्द्र निर्धारण गरिएको छ ।

यसैबीच निर्वाचनलाई मध्यनजर गरी दाङको सुरक्षा व्यवस्थालाई सुदृढ पारिएको छ । प्रजिअ गोविन्दप्रसाद रिजालले निर्वाचन सुरक्षा कार्ययोजना बनाइसकेको जानकारी दिनुभयो । उहाँले मतदानस्थललाई वर्गीकरण गरिएको पनि बताउनुभयो । उहाँका अनुसार २६ मतदानस्थल संवेदनशील, ६ स्थल अति संवेदनशील र दुईवटा स्थल सामान्य रहेको विश्लेषण गरिएको छ ।

उहाँले ढुक्क भएर मतदातालाई मतदान गर्ने वातावरण तयार गर्ने, मतदानस्थल मतदान केन्द्रको प्रभावकारी सुरक्षा प्रवाह गर्ने र सबै सुरक्षा निकायको समन्वयमा काम गरिनेसमेत बताउनुभयो। यसैबीच निर्वाचन सुरक्षालाई मध्यनजर गरी आजदेखि प्रदेश नं ५ को राजधानी बुटवलमा ५ नं प्रदेशस्तरीय सुरक्षा गोष्ठी पनि शुरु भएको छ।

यसैबीच घोराही उपमहानगरपालिका–१६ को वडाध्यक्ष पदमा पनि उपनिर्वाचन हुने भएको छ । सो वडाका वडाध्यक्ष लक्षिणप्रसाद बुढाको पनि केही महिनापहिले उपचारका क्रममा मृत्यु भएको हो।सो वडाको मतदान गराउन उच्च अदालत तुलसीपुरका उपसचिव प्रेम खड्कालाई निर्वाचन अधिकृत तोकिएको छ । अहिलेसम्म नेपाली काङ्ग्रेस दाङले वडाध्यक्ष  पदका लागि तरुण दल दाङका नेता रहेका तारा डिसीलाई   उम्मेदवार चयन गरेको छ भने नेकपा तथा अन्य दलले उम्मेदवारको अझै टुङ्गो लगाएका छैनन् ।  सो वडामा चार हजार ४५३ मतदाता रहेका छन् । पुरुष दुई हजार ८८ र महिला दुई हजार ३६५ रहेका छन् ।

नेकपाले टुङ्ग्यायो उम्मेदवार

कावासोती: नवलपरासीको पहाडी क्षेत्र बौदीकाली गाउँपालिका-५ मा हुने वडाध्यक्ष पदको निर्वाचनका लागि सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नवलपुरले उम्मेदवारको टुङ्गो लगाएको छ। मङ्सिर १४ गते हुने उपनिर्वाचनमा नेकपाले वडाध्यक्ष पदका लागि खिमबहादुर थापा खरुमगरलाई उठाउने सर्वसम्मत निर्णय गरेको छ। जिल्ला कमिटीको बैठकले सर्वसम्मतरूपमा खरुमगरलाई वडाध्यक्ष पदमा उठाउने निर्णय गरेको नेकपा जिल्ला कमिटी अध्यक्ष रोशनबहादुर गाहाले बताउनुभयो। खरुमगर बौदीकाली–५ को नेकपाको वडा कमिटी सदस्य हुनुहुन्छ। 

नवलपरासी पूर्वनवलपुरको बौदिकाली गाउँपालिका-५, मा वडाध्यक्षका लागि निर्वाचन हुन लागेको जिल्ला निर्वाचन कार्यालय नवलपरासी पूर्वका प्रमुख सुदीप पाण्डेले बताउनुभयो। जिल्लामा एक स्थानमा मात्रै उपनिर्वाचन हुँदैछ। 

वडाध्यक्ष दलबहादुर खरूमगरको हृदयाघातका कारण निधन भएपछि रिक्त रहेको वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो । वडाध्यक्षमा तत्कालीन नेकपा एमालेबाट उम्मेदवारी दिनुभएको दलबहादुर खरुमगर निर्वाचित हुनुभएको थियो । मगरले ३८४ मत प्राप्त गर्नुभएको थियो उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका मुक्तबहादुर थापा मगरले १५४ मत प्राप्त गर्नुभएको थियो। वडाध्यक्ष मगरको निधनपछि नेकपाबाटै वडा सदस्य जित्नुभएका कुलसिंह रानालाई कार्यवाहक दिइएको थियो । उहाँको पनि गएको भदौ महिनामा हृदयघातका कारण निधन भएको थियो। 

वडाध्यक्षका लागि हुने निर्वाचनमा नेपाली काङ्गे्रस नवलपुरले भने उम्मेदवारको टुङ्गो लगाएको छैन । यस वडामा हाल ८५३ मतदाता रहेका छन्। निर्वाचनका लागि वडामा कात्तिक २० गते कार्यालय खोलिने निर्वाचन कार्यालयका प्रमुख पाण्डेले बताउनुभयो। वडा नं ५ मा रहेको उदय आधारभूत विद्यालयमा मतदान केन्द्र तोकिएको छ। मतदान केन्द्रमा एक मतदान अधिकृतसहित आठ जनासम्म कर्मचारी परिचालन गरिने प्रमुख पाण्डेले बताउनुभयो। 


प्रतिक्रिया दिनुहोस्