सडक बालबालिकाको उद्धारमा तीव्रता

प्रकाशित मिति : असार २, २०७८ बुधबार


काठमाडौँ । सरकारले सङ्घ, प्रदेश र स्थानीय तहमा अनाथ बालबालिको संरक्षण र व्यवस्थापन गर्न सडक बालबालिको उद्धार र व्यवस्थापनलाई तीव्रता दिने भएको छ।  

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बालबालिकासम्बन्धी गुरुयोजनाअनुसार व्यावहारिक रुपमै बालश्रम अन्त्य गर्न प्राथमिकताका साथ काम गर्दै आएको छ। 

बाल विवाह अन्त्य गर्नाका साथै तिनको बेचबिखन, यौनशोषण तथा दुव्र्यवहार अन्त्यका लागि आवश्यक सबै कार्य गर्ने योजना बनाइएको उक्त मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरले जानकारी दिनुभयो। 

उहाँले भन्नुभयो, “मन्त्रालयले आगामी दिनमा बालबालिकाविरुद्ध हुने शारीरिक र मानसिक यातना न्यूनीकरण गर्न बालगृहहरुको अनुगमन, सहजीकरण र नियमनलाई अझै तीव्रता दिने योजना बनाएको छ ।” मन्त्रालयले सडकमा बालबालिका रहन नदिन उनीहरुलाई शिक्षा, स्वास्थ्य र उचित संरक्षण तथा विकासको अवसर दिलाउने र बालबालिकासम्बन्धी सङ्घ, प्रदेश र स्थानीय तहबाट भएका कार्यहरुको एकीकृत प्रतिवेदन  लिने भएको छ ।

राष्ट्रिय बालअधिकार परिषद्ले काठमाडौँ, ललितपुर, भक्तपुरलगायत अन्य जिल्लाका बेवारिसे सडक बालबालिका र  बालगृहमा जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकालाई उद्धार गर्दै आएको छ । पछिल्लो पटक बालबालिका खोजतलास केन्द्रको सहयोगमा उक्त परिषद्ले काठमाडौँको गौशालाबाट ५८ सडक बालबालिकालाई उद्धार गरेको थियो ।  परिषद्का अनुसार आर्थिक वर्ष २०७५÷७६ मा ११२ बाल श्रमसम्बन्धी घटना भएकामा  ६५  बाल हत्यासम्बन्धी घटना सार्वजनिक भएको थियो। 

उक्त मन्त्रालयले महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्ने उद्देश्यले सरकारले आजैदेखि ‘लैङ्गिक हिंसाविरुद्धको प्रदेशस्तरीय अभियान’ समेत शुरु गरेको  छ। लैङ्गिक हिंसाको अन्त्य तथा लैङ्गिक समानता, विकास र महिला सशक्तिकरणका लागि हालसम्म प्राप्त उपलब्धिहरू समेट्दै लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीतिद्वारा लैङ्गिक हिंसामुक्त राष्ट्र निर्माण गर्ने आधार तयार गर्न आज विराटनगरबाट सो अभियान शुरु गरिएको सचिव घिमिरेले जानकारी दिनुभयो। 


प्रतिक्रिया दिनुहोस्