बारले थप सशक्त बनायो आन्दोलन, प्रधानन्यायाधीशको वार्ता प्रस्ताव अस्वीकार

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ९ : २४


काठमाडौं। नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको आन्दोलनलाई थप सशक्त बनाउने भएको छ।

बार महासचिव लीलामणि पौडेल न्युज कारखानासँग कुरा गर्दै आइतबार सर्वोच्च अदालत परिसरमा दंगा प्रहरी प्रयोग गरेर अदालतकै परिवार कानुन व्यवसायीमाथि चरम दमन भएको बताएका छन्।

त्यसैको विरुद्धमा आफूहरूले आन्दोलनलाई थप कडा पार्ने उनले चेतावनी दिए।

‘हामीमाथि प्रहरी दमन भएको छ। प्रहरीका बुट प्रहार भएका छन्। त्यसविरुद्ध आइतबार देशभरका सबै अदालतमा बन्दी प्रत्यक्षीकरण बाहेक सबै मुद्दामा बहस पैरवी नगर्ने निर्णय गरेका छौं। यो प्रहरी परिचालन गरेर कानुन व्यवसायीमाथि भएको दमनका विरुद्धमा हो। सोमबारबाट हाम्रा नियमित पुरानै आन्दोलनका कार्यक्रमले निरन्तरता पाउने छन्’ उनले भने।

उनले सोमबार संसदमा सरिक सबै दललाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको समेत बताएका छन्। मंगलबार देशभरका सबै अदालतमा अन्तिम हदम्याद भएको मुद्दा बाहेक अरू कुनै पनि मुद्दा मामिलालगायत कुनै पनि काम नगरिने उनले बताए।

उनले बुधबार देशभरका १८ वटा उच्च अदालतमा केन्द्रीय प्रतिनिधि पठाएर त्यो अदालतका क्षेत्राधिकार भित्रका अरू अदालतका कानुन व्यवसायीलाई एकै ठाउँमा भेला पारेर वृहत् विरोध सभा कार्यक्रम आयोजना गरिने बताएका छन्। बिहीबार र शुक्रबार भने काठमाडौं केन्द्रित आन्दोलनलाई सशक्त बनाइने बताएका छन्।

यसका साथै उनले प्रधानन्यायाधीशले वार्ताका लागि पठाएको पत्रको कुनै नरहेको बताएका छन्। उनले प्रधानन्यायाधीशको राजीनामा मागिरहेको र बेन्चसमेत नतोक्न भनेको अवस्थामा अब वार्तामा बस्नुको कुनै अर्थ नहुने बताएका हुन्।


प्रतिक्रिया दिनुहोस्