ए डिभिजन लिगको उद्घाटन खेलमा सातदोबाटो र फ्रेण्ड्सले अंक बाढे

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ७ : २८


काठमाडौं। नवप्रवेशी सातदोबाटो यूथ क्लबले शुक्रबार सहिद स्मारक ‘ए’ डिभिजन लिगमा दश खेलाडीमा सीमित फ्रेण्ड्स क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बाढेको छ।

निर्धारित समय भन्दा ८ मिनेट ढिला गरी सुरु भएको खेलमा बराबरी गरेपछि दुवै टोलीले एक एक अंक बाडेका छन्।

पहिलो हाफमा दुवै टोलीले गतिलो ‘मुभ’ बनाउन सकेनन्। दोस्रो हाफमा दुवै टोलीले गोलका केही राम्रो अवसर सिर्जना गरे पनि सदुपयोग गर्न नसकेपछि अंक बाँड्न बाध्य भएका हुन्।

खेलको ७६औं मिनेटमा रोनेल एन्थोनी पाउलले दोस्रो पहेँलो कार्डको सामना गरेपछि फ्रेण्ड्स दश खेलाडीमा सीमित भएको थियो। पाउलले सातदोबाटोका सुशील राईलाई फाउल गरेपछि रेफ्री प्रज्वल क्षेत्रीले रातो कार्डको देखाएका थिए।

फ्रेण्ड्सले बाँकी १४ मिनेट दश खेलाडीमा रहेर खेलेको थियो। तर सातदोबाटो त्यसको फाइदा लिन भने सकेन।

सातदोबाटोले ५५औं मिनेटमा अग्रता लिने राम्रो अवसर खेर फालेको थियो। सातदोबाटोका सुशील राईले हानेको प्रहार विपक्षी रक्षकलाई लागेर पोस्टमा गएको थियो। जुन फ्रेण्ड्सका गोलकिपर राहुल यादवले सजिलै बचाएका थिए।

त्यसको दुई मिनेट बित्न नपाउँदै सातदोबाटोका आकाश बुढामगरले हानेको प्रहारलाई पनि फ्रेण्ड्सका गोलकिपर राहुलले पन्च गरेर बचाइदिएका थिए।

फ्रेण्ड्स क्लबमा जमौल एन्थोनी फ्रान्कोइसले हानेको प्रहार क्रसबारमा लागेर फर्किएको थियो। तर रिबाउन्डमा प्राप्त बल लिने कोही नहुँदा फ्रेण्ड्सले अग्रता लिने राम्रो मौका गुमाएको थियो।

फ्रेण्ड्सका फ्रान्कोइसले नै ६६औं मिनेटमा पनि गोल गर्ने अवसर खेर फालेका थिए। उनले पेनाल्टी बक्स बाहिरबाट हानेको प्रहार विपक्षी रक्षक पिटर सेगुनको खुट्टामा लागेर गएको बल सातदोबाटोका रक्षक अभिषेक बरालले मुस्किलले पन्च गरेर बचाएका थिए।

शनिबार लिगमा दुई खेल हुनेछ। दिउँसो १ बजे हुने पहिलो खेलमा हिमालयन शेर्पा र संकटा क्लबले प्रतिस्पर्धा गर्नेछन्। साँझ ४ः४५ बजे हुने दोस्रो खेलमा ललितपुरका च्यासल यूथ र थ्री स्टार क्लबले खेल्नेछन्।


प्रतिक्रिया दिनुहोस्