दिल्ली प्रदूषणमा कृषि उब्जनीको मौसमी धुँवा कति जिम्मेवार?

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ६ : ४९


हरेक वर्षको हिउँदमा जस्तै यो वर्ष पनि भारतको राजधानी सहर नयाँ दिल्ली प्रदूषणले ढाकेको छ। प्रदूषण बढेसँगै दिल्ली सरकारले आपतकालीन कदम चालेको छ।

दिल्लीका विद्यालय तथा कलेज अनिश्चितकालका लागि बन्द गरिएका छन्। सरकारी कर्मचारीले घरबाटै काम गर्न थालेका छन्। प्रदूषणका दृष्टिले जोखिम मानिएका उद्योगधन्दा र कलकारखाना बन्द गरिएका छन्। प्रदूषण नियन्त्रणका लागि सरकारले लकडाउनसम्मको तयारी गरेको छ।

जाडोको सुरुवातसँगै दिल्लीको आकाशलाई धुँवा र धुलोले ढाक्नु नौलो घटना होइन। खेतीपाती थन्काएपछि किसानले मलका लागि पराल तथा डाँठमा लगाउने आगो, कारखानाबाट निस्कने धुँवा, अनियन्त्रित सवारी साधन, सुख्खा मौसम दिल्ली प्रदूषणका मुख्य कारक हुन्। यसबाहेक दीपावलीमा पड्काइएका पट्का र आतिशबाजीले प्रदूषणरूपी आगोमा ध्यु थपेको छ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश एनभी रामानाले प्रदूषण नियन्त्रण गर्न आकस्मिक कदम चाल्न सरकारका नाममा आदेश जारी गरेका छन्। वायुमन्डलमा देखिएको धुलोको कण विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा धेरै देखिएपछि प्रदूषण रोक्न अदालतसमेत जुर्मुराएको हो।

वातावरणका क्षेत्रमा काम गर्दै आएको ग्रीनपिसका अनुसार गत वर्ष वायु प्रदूषणकै कारण दिल्लीमा मात्र ५७ हजार मानिसको मृत्यु भएको थियो । कोभिडका कारण सरकारले जारी गरेको लकडाउनबाबजुद प्रदूषण तह उच्च थियो।

के हो प्रदूषणको कारक?
केन्द्रीय सरकारले दिल्लीमा प्रदूषण बढ्नुमा किसानले पराल जलाउँदा निस्कने मौसमी धुँवा खासै जिम्मेवार नभएको बताउँदै आएको छ। परालबाट निस्कने धुँवा प्रदूषण बढाउन केबल १० प्रतिशत जिम्मेवार भएको सरकारको भनाई छ।

हरेक वर्ष हिउँदको सुरुवातसँगै दिल्ली वरपरका किसानहरुले पराल र अन्य खेतीको डाँठ जलाउँछन्। परालको आगोले विहार र पन्जाबमा प्रदूषण तह बढेपछि सरकारले सन् २०१५ मा किसानलाई त्यस्ता कार्यमा रोक लगाएको थियो। तर, सरकारको प्रतिबन्ध लगाएपछि कृषिजन्य प्रदूषणमा कुनै कमी आएको छैन, बरू दिनहुँ तीब्र बढिरहेको छ।

कृषि उपजको प्रदूषणबाट गत वर्षको तुलनामा यो वर्ष पन्जाब र हरियाणा प्रान्तका धेरै प्रभावित भएका छन्। नोभेम्बरको पहिलो दुई सातामा मात्र पन्जाब र हरियाणाका किसानले ५७ हजार स्थानमा आगो लगाएका थिए। यो संख्या सन् २०१२ पछिकै ठूलो हो।

तर, पछिल्लो एक अध्ययनमा दिल्लीको वायु प्रदूषणमा पराल तथा डाँठको आगोबाट निस्कने धुँवा १० प्रतिशत मात्र जिम्मेवार छ।

आतिशबाजीले वायु गुणस्तर प्रभावित भएको हो?
दिल्लीमा प्रदूषण बढ्नुमा दीपावलीको पटका र आतिशबाजीलाई पनि मुख्य कारक बताइएको छ। विज्ञहरुको सुझावमा यो वर्ष दीपावलीमा विभिन्न राज्यले आतिशबाजी बिक्री र प्रयोगमा रोक लगाएका थिए। तर, त्यसको कार्यान्वयन पक्ष भने निकै फितलो देखियो।

दिल्लीमा वायु प्रद्रूषण बढ्नुमा आतिशबाजी पनि कारक रहेको सन् २०१८ मा गरिएको एउटा सर्वेक्षणले देखाएको थियो। सर्वेक्षणमा दिल्लीका पाँच क्षेत्रलाई आधार मानेर सन् २०१३ देखि सन् २०१६ सम्मको तथ्यांक विश्लेषण गरिएको थियो।

दीपावलीको प्रदूषण र किसानहरुले पराल जलाउँदा निस्कने प्रदूषणमध्ये कुन बढी जिम्मेवार छ भन्ने बारेमा भारतीय विज्ञहरुले गरेको अर्को अनुसन्धानमा आतिशबाजी र पटका खासै जिम्मेवार नरहेको देखिएको थियो। उत्तरी भारतमा परालबाट निस्केको धुँवा पत्ता लगाउन अनुसन्धानकर्ताहरुले स्याटलाईट तथ्यांक प्रयोग गरेका थिए।

सन् २०१८ को अर्को एक अध्ययनअनुसार दीपावलीका बेला पड्काइने पटकाले वायुमन्डलको हावामा असर गरेको पत्ता लागेको थियो। दिल्लीका पाँचवटा स्थानमा गरिएको सो अध्ययनमा सन् २०१३ देखि २०१६ सम्मको तथ्यांक विश्लेषण गरिएको थियो।

दिल्लीस्थित विज्ञान तथा पर्यावरण केन्द्रले सार्वजनिक गरेको अध्ययनअनुसार दीपावलीका बेला दिल्लीको वायुमा सन् २०१८ देखि सन् २०२० सम्म पीएम २.५ को मात्रा बढेको थियो।

विज्ञहरुका अनुसार सबै पटकाले पीएम २।५ का कणहरू उत्सर्जन नगरे पनि ठूला पटाकाले धेरै उत्सर्जन गर्छन्।

तर, पछिल्लो एक अध्ययनमा दिल्लीको वायु प्रदूषणमा पराल तथा डाँठको आगोबाट निस्कने धुँवा १० प्रतिशत र कृषि क्षेत्रको प्रदूषण ४८ प्रतिशत जिम्मेवार रहेको पत्ता लागेको थियो।


प्रतिक्रिया दिनुहोस्