प्रहरीसम्म आइपुग्दैनन् बालविवाहका मुद्दा, गाउँगाउँमा भेटिन्छन् किशोरी आमा

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ६ : १९


सिन्धुली। सिन्धुलीको घ्याङलेख गाउँपालिका–३ की प्रनिशा वाइबा तीन सन्तानकी आमा हुन्। दुई छोरी एक छोराकी आमा प्रनिशा भने भर्खरै २२ वर्षकी भइन्।

गाउँकै प्रकाशकुमार थिङसँग १४ वर्षको उमेरमा भागी विवाह गरेकी उनको सात र तीन वर्षीया छोरी र ६ वर्षका छोरा छन्। शारीरिक र मानसिक रूपमा परिपक्व नभई सानै उमेरमा विवाह गरेका प्रनिशा र प्रकाशले न त परिवारको योजना बनाउन भ्याए न त भविष्य नै।

बच्चालाई स्तनपान गराउने तरिका, पोषकतत्व भएको खानेकुरा खुवाउने खाने तरिका र सरसफाइ सम्बन्धमा राम्रो जानकारी नहुँदै तीन सन्तान हुर्काउँदै छन्। २२ वर्षमै तीनवटा सन्तान होला भन्ने उनीहरूले सोचेका थिएनन्।

‘हामीलाई सल्लाह दिने पनि कोही भएनन्। जे हुन्थ्यो, भइहाल्यो, हामी अहिले खुसी छौँ। अब उनीहरूलाई राम्रो लालनपालन र शिक्षा दिने हाम्रो कर्म हो’, प्रनिशाले भनिन्। माइती नजिकै भएकाले सन्तान हुर्काउन केही सजिलो भएको उनले बताइन्। उनीहरू खेती किसानबाट जीविकोपार्जन गर्छन्।

कमलामाई नगरपालिका–३ चपौलीकी १९ वर्षीय अस्मिता नेपाली पनि काखमा बच्चा हुर्काउँदै छिन्। १६ वर्षमै विवाह गरी १७ वर्षमा बच्चा जन्माएको अस्मिताले सुनाइन्। सानैमा भागेर विवाह गरेकी अस्मितालाई बेलाबेलामा स्वास्थ्यमा गम्भीर समस्या पनि देखिने गरेको छ।

१७ वर्षको उमेरमा आमा बनेकी अस्मिता भन्छिन्, ‘पहिला थाहा भएन सानै उमेरमा भागेर विवाह गरियो। अहिले महिनावारी समयमा नि हुन्न, डाक्टरले भनेअनुसार पाठेघरमा समस्या देखिएको छ।’

शारीरिक रूपमा परिपक्व नभई आमा बन्ने प्रनिशा र अस्मिता मात्र होइनन्। जिल्लामा कम उमेरमा आमा बन्नेको संख्या धेरै छ। जिल्ला अस्पताल सिन्धुलीको तथ्यांक पनि जिल्लामा किशोरी आमा बन्ने क्रम बढ्दो देखिन्छ।

अस्पतालको तथ्यांकअनुसार आर्थिक वर्ष ०७७–७८ मा ९२ जना १६ वर्ष देखि २० वर्ष मुनिका किशोरीहरूले प्रसूति सेवा लिएका छन्। यो त जिल्लामा सञ्चालित एक मात्र प्रसूति केन्द्रको विवरण हो।

जिल्लामा ३१ वटा बर्थिङ सेन्टरहरू सञ्चालनमा छन्। ती संस्थाहरूको तथ्यांकलाई समेत हेर्ने हो भने २० वर्ष नपुग्दै आमा बन्नेहरूको तथ्यांक भयावह रहेको अस्पताले जनाएको छ।

कम उमेरमा आमा बन्दा आमा र बच्चाको ज्यान जोखिम हुने जिल्ला अस्पताल सिन्धुलीकी नर्सिङ प्रमुख रामेश्वर खायमलीले बताइन्। २० वर्षभन्दा अगाडि शरीर पूर्ण रूपले विकास भई नसकेको कारण बच्चा सानो जन्मिने, बच्चाको मानसिक विकास नहुने, रगत धेरै बग्नेलगायत समस्या आउने उनी बत्ताउँछिन्।

खायमलीका अनुसार प्रजनन अङ्ग र पाठेघरको पूर्ण रूपमा विकास भई नसक्ने भएकाले कम उमेरमा आमा बन्दा पाठेघरलाई अड्याइ राख्ने मांसपेशी कमजोर भई कतिपयको पाठेघर नै झर्ने पनि हुन्छ।

विभिन्न निकायबाट वर्षौँदेखि बालविवाह रोक्न पहल भइरहे पनि बालिकाहरू आमा बन्दा पनि धेरैलाई चासो छैन। अशिक्षा, चेतनाको कमि, प्रविधि र गरिबीको कारण पनि जिल्लामा बालविवाह बढेको देखिन्छ। किशोरकिशोरी चाँडै निर्णय लिन तत्पर हुने स्वभावका हुन्छन्।

यो उमेरमा राम्रो शिक्षा र अभिभावकको रेखदेख नहुँदा उनीहरूमा विभिन्न स्वास्थ्य समस्या देखिने गरेको छ। सरकारले गाउँगाउँमा शिक्षा र सचेतना पु¥याउने नीति लिए पनि अहिलेसम्म बालविवाह घटेको छैन।

गाउँघरमा बालिका आमा बन्ने संख्या ठूलो देखिएकाले स्वास्थ्य शिक्षा थप प्रभावकारी बनाउन आवश्यक रहेको बालबालिकाको क्षेत्रमा लामो समयदेखि काम गदै आएका रिलिफ नेपाल सिन्धुलीका अध्यक्ष दुर्गा पौडेलले बताए।

‘हामीले जिल्लाका विभिन्न पालिकामा बालबालिकाको क्षेत्रमा काम गरिरहँदा मुख्य समस्य बालविवाह रहेको पायौँ’, उनले भने, ‘किशोरी उमेरमा नै आमा बन्ने धेरै छन्। उनीहरूमा स्वास्थ्यसम्बन्धी चेतनाको पनि अभाव छ।’

कम उमेरका आमाहरूले गर्भवती अवस्थामा पनि पोषणयुक्त खाना पाउँदैनन्। गर्भवती अवस्थामा गर्नुपर्ने नियमित स्वास्थ्य परीक्षण गर्दैनन्। अझ सहरबाट टाढा रहेका स्वास्थ्य संस्थाहरूमा उनीहरूको पहुँच रहन्न। यसको असर यी कलिला आमाहरूले ठूलो स्वास्थ्य जोखिम व्यहोरिरहेका छन्। जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र शाहले आफूहरूले बालविवाह न्यूनीकरण गर्ने कार्यक्रम गरिरहेको जानकारी दिए।

कार्यालयले रेडियो, पत्रपत्रिका र अन्य कार्यक्रममार्फत स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको उनको भनाइ छ। उनले स्वास्थ्य संस्थामा गर्भवती जाँच गर्न आउने आमाहरूलाई अवस्था हेरेर थप सचेतना र शिक्षामूलक जानकारी दिँदै आएको बताए।

कार्यालयले दुर्गम क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न थप कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जनाएको छ। सरकारले ग्रामीण क्षेत्रका महिलालाई सानैदेखि शिक्षा र स्वास्थ्यमा प्रभावकारी कार्यक्रम सञ्चालन नगर्ने हो भने पछिल्लो दिनमा मातृ मृत्युदर र कुपोषित बालबालिकाको संख्या अझ बढ्ने देखिएको प्रमुख शाहले बताए। अशिक्षा र चेतनाको कमिका कारण धेरै बालिका सानो उमेरमा आमा बन्ने गरेको उनको भनाइ छ।

यस्तै सामाजिक र जातीय संस्कारले पनि बालविवाहलाई सघाएको देखिन्छ। खासगरी आदिवासी जनजाति, दलित र गरिब समुदायमा यसको प्रभाव धेरै रहेको विभिन्न अध्ययनहरूले देखाउँछ।

यसैबीच बालविवाहले व्यक्तिगत घटना दर्ता र प्रशासनिक कार्य गर्न बाधा सिर्जना हुने कमलामाई नगरपालिकाका प्रशासकीय अधिकृत विशकसेन ढकाल बताउँछन्। विवाहदर्ता र छोराछोरीको जन्मदर्ता गर्न आउँदा नागरिकता नभएकाले प्रशासनिक क्षेत्रमा समस्या हुने गरेको ढकालले बताए।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बालविवाहको कारण जिल्लामा जबरजस्तीकरणीका मुद्दा बढी आइरहेको छ। जिल्लामा ०७७–७८ मा ३४ वटा जवरजस्तीकरणीका मुद्दा दर्ता भएको जिल्ला अदालतले जनाएको छ। सानै उमेरमा भागेर विवाह गर्ने र अभिभावकले थाहा पाएपछि जबरजस्तीकरणीमा जाहेरी दिने गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता मनोजकुमार लामाले जानकारी दिए।

तर, प्रहरीमा बालविवाह कै मुद्दा भने कमै मात्रामा आउने गरेको देखिन्छ। १० महिनाको अवधिमा तीनवटा बालविवाहको जाहेरी आएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। सिन्धुली अस्पतालमाको तथ्यांक हेर्ने हो भने एक वर्षमा ९२ जना २० वर्षभन्दा कम उमेरका किशोरीले प्रसूति सेवा लिएका छन्।

मुलुकी संहिताअनुसार केटाकेटी २० वर्ष नपुगी विवाह गर्न पाइँदैन। कमलामाई नगरपालिका कानुन अधिकृत टनक विक्रम कार्कीले यदि कसैले २० वर्षभन्दा अगाडी आफू खुसी विवाह गर्छ वा घर परिवारले नै विवाह गरिदिन्छ भने केटाकेटी र विवाह गरिदिने अभिभावक दुबैलाई तीन वर्षको कैद र २० हजार रुपैयाँ जरिवाना हुने र विवाह पनि बदर हुने कानुनी व्यवस्था रहेको जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्