कांग्रेस अधिवेशनः युवाहरु पुराना नेतालाई चुनौती दिँदै उम्मेदवार बन्न थाले

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ३ : ३८


कपिलवस्तु। शुक्रवार नेपाली काँग्रेसको प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन अन्तर्गत मनोनयन सुरू भएको छ। कपिलवस्तुको ६ निर्वाचन क्षेत्रमा शुक्रबार मनोनयन दर्ता हुँदै छ। सबै क्षेत्रमा संस्थापन र रामचन्द्र पौडेल पक्षको अलगअलग गुट बनाइ उम्मेदवारी दर्ता भएको छ।

अधिवेशनको माहौल सुरू हुँदै फेसबुकमार्फत युवापुस्ताले पनि उम्मेदवार दिने घोषणा गरेका थिए। तर, गुटको दबाबका कारण युवाहरूले उम्मेदवार दिनबाट रोकिनु परेको छ।

कपिलवस्तु क्षेत्र नं. २ क अन्तर्गत प्रदेश अधिवेशन प्रतिनिधिमा एक विद्यार्थी नेता दबाब त्यागेर भए पनि निर्वाचनमा होमिएका छन्।

नेपाल विद्यार्थी संघ बुद्धभूमि नगर सभापति थानेश्वर अर्याल अच्युतले मनोनयन दर्ता गरेका हुन्। निर्वाचन मण्डलका सदस्य कुलानन्द भुसालका अनुसार उनले ११ जना प्रतिस्पर्धीसँग सामना गर्नुपर्ने भएको छ।

प्रदेश अधिवेशन प्रतिनिधिमा खुला तर्फ ७ जनाको मात्र कोटा रहेको छ। कुल १० मध्ये ३ जना महिला भने निर्विरोध निर्वाचित भएका छन्।

कुनै प्यानलमा नरही साझा उम्मेदवारको रूपमा नाम दर्ता गराएको अच्युतले बताए। उम्मेदवारी घोषणा गरेपछि उनलाई पार्टीका नेताहरूले नाम फिर्ता लिन दबाब आएको समर्थक कृष्ण बन्जाडेले बताए।


प्रतिक्रिया दिनुहोस्