बझाङमा हाइड्रोपावरको सुरुङ भत्कियाे, चार मजदुर थुनिए

प्रकाशित मिति : असार २, २०७८ बुधबार


काठमाडाैं । बझाङको बुंगल नगरपालिका–१ स्थित कालंगा हाइड्रोको सुरुङ भत्किँदा चारजना मजदुर थुनिएका छन् । उनीहरू आइतबार दिउँसो सुरुङभित्र छिरेका थिए । सुरुङभित्र ६ जना छिरे पनि दुईजना भने सास फेर्न अप्ठ्यारो भएको भन्दै तत्कालै निस्किएका थिए ।

उनीहरूको उद्धारका लागि पटकपटक प्रयास गरिए पनि सफल हुन नसकेको प्रहरीले जनाएको छ । सुरुङभित्र बेपत्ता हुनेमा दैलेखका कर्णबहादुर शाही र महेन्द्रबहादुर शाही तथा अछामका महेन्द्र साउद र बझाङका शेरसिंह धामी रहेको बताइएको छ ।

घटनास्थलमा पुगेका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले उद्धारको प्रयास गरिरहे पनि सम्भव भएको छैन । सुरुङ भत्किएकाले स्थानीय उद्धारकर्ताबाट सम्भव नभएको भन्दै काठमाडौंबाट उद्धार टोली मगाइएको प्रहरीले जनाएको छ । ७५ मेगावाट क्षमताको सो हाइड्रोपावरको उक्त सुरुङ तीन सय मिटर लामो रहेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्