आजका मुख्य खबर: क्रिकेटमा नेपालले रच्यो इतिहास, सर्वोच्चमा गोलाप्रथा पास

प्रकाशित मिति : २ मंसिर २०७८, बिहिबार  ८ : २९


कर्णालीमा माओवादी केन्द्रले माग्यो चार मन्त्रालय

नेकपा (माओवादी केन्द्र)ले कर्णाली प्रदेश सरकारमा चार मन्त्रालय मागेको छ। बिहीबार बसेको प्रदेश संसदीय दलको बैठकले चार मन्त्रालय अनिवार्य पाउनुपर्ने निर्णय गरेको संदीय दलका प्रमुख सचेतक ठम्मर विष्टले बताए।

आफूहरू हालको सत्तारुढ गठबन्धनको सबैभन्दा ठूलो दल भएकाले सम्मानजनक सहभागिताका लागि चार मन्त्रालय चाहिने उनको भनाइ छ।

एमाले पदाधिकारीमा एक तिहाइ महिला उम्मेदवार बनाउने तयारी

नेकपा एमालेका महिला नेताहरूले पदाधिकारीको कम्तीमा एक तिहाइ संख्यामा उम्मेदवारी दिने तयारी गरेका छन्।

चितवनमा हुने १०औँ राष्ट्रिय महाधिवेशनमा पार्टी पदाधिकारीमा पनि समानुपातिक सहभागिता हुने गरी उम्मेदवारी दिने तयारी गरेका हुन्।

केन्द्रीय, स्थायी र पदाधिकारी पनि समावेशी हुुनपर्ने र त्यसका लागि महिला प्रतिस्पर्धामा आउने गरी छलफल भइरहेको केन्द्रीय सदस्य रचना खड्काले बताइन्। उनका अनुसार पार्टी पदाधिकारीमा कसरी उम्मेदवारी दिने भन्नेबारे बिहीबार पनि परामर्श भएको छ।

रोल्पामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु

रोल्पामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। दाङको घोराहीबाट रोल्पाको थवाङका लागि छुटेको ना३ख ५५१८ नम्बरको बस आज साँझ दुर्घटनामा परेको हो।

दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना घाइते भएको प्रहरीले जनाएको छ। बस शहीदमार्गअन्तर्गत माडी गाउँपालिका( २ जलजलामा दुर्घटनामा परेको रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिए।

युवा खेलाडीको भरमा सबै क्लबले ए डिभिजन लिग खेल्दै

नेपाली खेलकुदको मेरुदण्ड मानिने शहीद स्मारक ए डिभिजन लिगको नयाँ संस्करण भोलि ९शुक्रबार०देखि सुरु हुँदै छ।

केही क्लबले राष्ट्रिय टोलीका खेलाडीलाई समावेश गर्दै उपाधि लक्ष्य बनाएका छन् भने केही टोलीले युवा खेलाडीको भरमा ए डिभिजन लिग खेल्दै छन्। धेरैजसो क्लबको लक्ष्य उपाधि रहेको छ।

दिनको पहिलो खेल भोलि यसै सिजन बढुवा भएको टोली सातदोबाटो युथ क्लबले फ्रेन्ड्स क्लबसँग खेल्दै लिगको सुरुवात गर्दा नयाँ सिजनको शहीद स्मारक ए डिभिजन लिग पनि आरम्भ हुनेछ।

सहभागी सबैजसो क्लबले आफ्नो टोलीमा युवा टोलीको बाहुल्य रहेको भन्दै युवा खेलाडीको जोशमा नयाँ सिजनको लिग खेल्ने बताएका हुन्।

फेरि सर्‍यो राप्रपाको महाधिवेशन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशनको फेरि सरेको छ। महाधिवेशन आउन नौ दिन बाँकी रहँदा राप्रपाले महाधिवेशनको मिति फेरि संशोधन गरेको हो।

पार्टी नेता भुवन पाठकले ११ देखि १३ मंसिरमा गर्ने तय भएको केन्द्रीय महाधिवेशन अब १५, १६ र १७ मंसिरमा काठमाडौं हुने मिति तय भएको जानकारी दिए।

सर्वोच्च अदालतको पूर्ण बैठकले गर्‍यो गोलाप्रथाको व्यवस्थासहितको नियमावली पास गर्ने निर्णय

सर्वोच्च अदालतको पूर्ण बैठकले गोलाप्रथाको व्यवस्थासहितको नियमावली पास गर्ने निर्णय गरेको छ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाबाहेकका न्यायाधीशहरूको आज बसेको बैठकले नियमावली र त्यससँग सम्बन्धित निर्देशिका पास गरेको हो। पूर्ण बैठकले नियमावली संशोधन गर्ने तथा निर्देशिका पास गर्ने निर्णय भएको सर्वोच्च स्रोतले जनाएको छ।

यो निर्देशिका अब राजपत्रमा प्रकाशन भएपछि लागू हुनेछ भने त्यो लागू भएपछि सर्वोच्चका अदालतले गोलाप्रथाबाट पेसी तोक्नेछ।

आजको निर्णयसँगै करिब तीन सातादेखि अवरुद्ध इजलास सुरु हुनेछ । स्रोतका अनुसार नियमावली संशोधन गर्दै आजै त्यसलाई आवश्यक प्रक्रिया अघि बढाउन कानुन मन्त्रालयमा पठाउने निर्णय भएको छ।

नियमावलीको नियम २० मा रहेको निर्देशिका परिवर्तन गरिएको हो । यो निर्देशिका अब कानुन मन्त्रालयबाट प्रक्रिया अघि बढेपछि राजपत्रमा प्रकाशन गरिनेछ।

टिम परिचालन गर्दै देउवा, विभाजित हुँदै पौडेल खेमा

१४औँ महाधिवेशनमा सभापति उठ्ने तयारी गरेका देउवाले आफ्नो पक्षमा वातावरण निर्माणका लागि समूह परिचालन गरिसकेका छन् । यता, देउवालाई महाधिवेशनमा हराउनका निम्ति संस्थापनइतर पक्षबाट साझा उम्मेदवार बनाउनुपर्ने निष्कर्ष निकालेको पौडेल खेमा भने विभाजित हुन थालेको छ । उनीहरू सार्वजनिक मञ्चमै एकअर्काप्रति आरोप प्रत्यारोपमा उत्रिन थालेका छन्।

सभापतिमा दाबी नछाड्ने भएपछि देउवाले प्रदेश-प्रदेशमा संयोजनका निम्‍ति नौ जना नेतालाई जिम्मेवारी दिएका छन्। देउवाले प्रदेश १ मा ज्ञानेन्द्रबहादुर कार्की, प्रदेश २ मा रमेश रिजाल र बाग्मतीमा डा.प्रकाशशरण महतलाई समन्वयको जिम्मेवारी दिएका छन्।

उता, गण्डकी प्रदेशमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाण, कर्णालीमा पूर्णबहादुर खड्का र जीवनबहादुर शाही र सुदूरपश्चिममा समन्वयको जिम्मेवारी रमेश लेखक र एनपी साउदले पाएका छन्।

प्रहरी अस्पतालको अनियमितता छानबिन समितिको प्रतिवेदन शंकाको घेरामा, फेरि अर्को समिति गठन

प्रहरी प्रधान कार्यालयले एक महिनाअघि नेपाल प्रहरी अस्पताल महाराजगंजका कार्यकारी निर्देशक एआईजी डा.आशा सिंहले अनियमितता गरेको भन्दै छानबिन गर्न गठित समितिको प्रतिवेदन नै शंकाको घेरामा परेको छ।

अनियमितता नदेखिएको निचोडसहितको प्रतिवेदन समितिले तयार गरेपछि छानबिन गर्न फेरि छुट्टै समिति बनाइएको छ । नयाँ समितिले मेसिन खरिदको प्राविधिक पाटो हेरिरहेको छ । प्राविधिकहरू रहेको समिति बनाइए पनि त्यसमा राखिएका व्यक्तिको नाम भने प्रहरीले गोप्य राखेको छ । समितिले गोप्य रूपमै अनियमितताको छानबिन गर्नेछ।

टी-२० सिरिज: ‘क्लिन स्विप’ गर्दै नेपालले रच्यो इतिहास

कतारविरुद्धको टी-२० अन्तर्राष्ट्रिय सिरिज नेपाली महिला टिमले ३-० ले क्लिन स्विप गरेको छ। बिहीबार भएको तेस्रो खेलमा कतारलाई १०९ रनले पराजित गर्दै नेपालले सिरिज क्लिन स्विप गरेको हो।

यसअघि नेपालले लगातार दुई खेल जित्दै सिरिज कब्जा गरेको थियो । नेपाल पहिलो खेलमा ११९ रन र दोस्रो खेलमा ६१ रनले विजयी भएको थियो ।

पहिलो अन्तर्राष्ट्रिय टी-२० सिरिज जितेको नेपाली महिला टिमले पहिलो सिरिज क्लिन स्विप गर्दै अर्को इतिहास रचेको छ।


प्रतिक्रिया दिनुहोस्