कतारविरुद्धको तीन खेलको शृंखलामा नेपालको ऐतिहासिक ‘क्लिन स्वीप’

प्रकाशित मिति : २ मंसिर २०७८, बिहिबार  ८ : ०७


नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले कतारविरुद्धको तिन अन्तरराष्ट्रिय टी– ट्वान्टी क्रिकेट शृंखला ‘क्लिन स्विप’ गरेको छ।

कतारको दोहामा भएको तिन शृंखला जित्दै नेपालले ऐतिहासिक सफलता हात पारेको हो। बिहीबार भएको तेस्रो तथा अन्तिम टी–ट्वान्टी खेलमा कतारलाई १०९ रनले हराउँदै नेपालले शृंंखला ३–० ले आफ्नो पक्षमा बनाएको हो।

नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याउने क्रममा कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ५५ रनमा समेटियो।

कतारका ब्याटर अलिना खानले सर्वाधिक १९ र कप्तान अयेशाले १३ रनको योगदान गरिन्। नेपालका बलर रुबिना क्षेत्री, सरस्वती कुमारी चौधरी र सवनम राईले समान १ विकेट हात पारे।

यसअघि नेपालले टस जितेर ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १६४ रनको कीर्तिमानी योगफल बनाएको थियो। नेपालकी ब्याटर सीता राना मगरले अविजित ८२ रनको अर्धशतकीय इनिङ्स खेलिन्। यस्तै ज्योति पाण्डेले २४ तथा डोली भट्टले १२ रन बनाइन्।

यसअघि नेपालले पहिलो खेलमा कतारलाई ११९ र दोस्रो खेलमा ६१ रनले पराजित गरेको थियो।

आईसीसी महिला टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटको तयारी स्वरूप नेपालले कतारसँग तीन खेल खेलेको हो।

विश्वकप छनोट २२ देखि २८ नोभेम्बर सम्म दुबईमा आयोजना हुनेछ। जसमा नेपालसहित युएई, हङकङ, भुटान, कुवेत र मलेसियाले सहभागिता जनाउने छन्।


प्रतिक्रिया दिनुहोस्