लागुऔषध ओसारपसारको नयाँ रूप, ट्याक्टरमा ‘फल्स बेस बक्स’

प्रकाशित मिति : २ मंसिर २०७८, बिहिबार  ७ : ४१


सुनसरी। नेपालबाट भारततर्फ लैजाँदै गरेको १८० केजी गाँजा प्रहरीले बरामद गरेको छ।

सुनसरी देवानगञ्ज ४ नेपाल(भारत सीमानामा ट्याक्टरको टलीभित्र फल्स बेस बक्स बनाई भारत निर्यात गर्न लागेको १८० केजी गाँजा बरामद गरेको हो। गाँजासहित स्थानीय सन्तोष कुमार मेहतालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सञ्जय सिंह थापाले जानकारी दिए।

उनको साथबाट एक थान मोटरसाइकल, एक थान ओसारपसारमा प्रयोग हुने ट्याक्टर बरामद गरिएको छ। नेपाली बजारमा प्रति केजी १३ हजारमाथि खरीद बिक्री हुने गरेको छ। भारतमा प्रतिकेजी २५ हजार माथिमा बिक्री हुने गरेको छ।

कसरी पक्राउ गर्न सफल भयो प्रहरी?

बुधबार दिउँसो करिब १ बजे देवानगञ्ज ४ नेपाल भारत सीमानानजिक प्रहरीको चेकिङ थियो। स्थानीय एक विद्यालयमा कार्यरत शिक्षक सन्तोषकुमार मेहता मोटरसाइकलमा अगाडि चेकिङमा रहेका प्रहरीलाई पछाडि आउँदै गरेको ट्याक्टर भारतमा पराल ल्याउन जानुपर्ने छ, छाडी दिनु पर्‍यो भन्दै आग्रह गर्छन्।

प्रहरीसँग कुराकानी गरी रहेको अवस्थामा पछाडि गाँजा बोकेर आउँदै गरेको ट्याक्टरका चालकले इन्जिन खोली ट्रली त्यहीँ छाडी इन्जिन मात्र लिई भाग्छन् । ट्याक्टर चालक भागेको देखेर मोटरसाइकलमा रहेका मेहता पनि भाग्न खोज्छन्। ट्याक्टर चालक भागेपछि प्रहरीले किन भाग्यो भन्ने खोजतलास गर्छ । प्रहरी ट्याक्टरको ट्रली चेकजाँच गर्न थाल्छ।

चेकजाँच गर्दा ट्रलीभित्र गाँजा लुकाउन गोप्य रूपमा फल्स बेस बक्स बनाएको थाहा हुन्छ। बेस बक्सको नट बल्टु खोली हेर्दा भित्र सेतो रङ्गको प्लास्टिकको ९० पोका गाँजा प्रहरीले फेला पार्छ। तौल गर्दा प्रत्येक पोकाको तौल २ केजी रहेको प्रहरी बताउँछ।

इलाका प्रहरी कार्यालय देवानगन्जका प्रहरी निरीक्षक बद्रीविक्रम दाहालको कमाण्डमा ट्याक्टरको इन्जिन खोजी गर्दा देवानगन्ज – ४ कौवाखोज स्थित वासको झाङमा लुकाई राखिएको अवस्थामा फेला पारेको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका मेहताविरुद्ध लागु औषध नियन्त्रण ऐन २०३३ अनुसार जिल्ला अदालत सुनसरीबाट। सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ। ट्याक्टर चालक फरार छन्। उनको खोजी भइरहेको प्रहरीको भनाइ छ।


प्रतिक्रिया दिनुहोस्