पत्रकारको यात्रा सहज गर्न अमेरिका र चीन सहमत

प्रकाशित मिति : २ मंसिर २०७८, बिहिबार  ८ : १४


न्युयोर्क. एक अर्को देशका पत्रकारहरुको यात्रा सहज बनाउन अमेरिका र चीन सहमत भएका छन्।

चीनका राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्टपति जो बाइडेनबीच भएको भर्चुअल संवादपछि दुबै देश एक अर्को देशमा जाने पत्रकारको यात्रा सहज बनाउन सहमत भएका हुन्।

सहमतिसँगै दुबै देशका सञ्चारकर्मी निर्वाध आवत जावत गर्न पाउने भएका छन्।

पत्रकारको यात्रा सहज बनाउन दुबै देशले एक वर्षदेखि वार्ता प्रयास गरेका थिए। दुबै देशका सरकारहरुले पत्रकारको भिसा अवधि तीनदेखि एक वर्षसम्म बढाउन सहमत भएका छन्।

दुबै देशले सञ्चारकर्मीलाई एक अर्को देशमा जान र फर्किन अनुमति दिने प्रतिबद्धता जनाएका छन्। अमेरिकी विदेश मन्त्रालयले पछिल्लो सहमतिलाई स्वागत गर्दै त्यसलाई सम्बन्ध सुधारको प्रारम्भिक कदम भनेको छ।

अमेरिकी र अन्य सञ्चार माध्यमहरुका लागि निरन्तर काम गर्ने बताउदै मन्त्रालयले पहुँच विस्तारका लागि निरन्तर काम गर्ने जनाएको छ।

गत फेब्रुअरीमा अमेरिकाले चीनका सरकारी सञ्चार माध्यमहरुलाई अमेरिकाले ‘विदेशी मिसन’ को रुपमा व्याख्या गर्ने निर्णय गरेको थियो। अमेरिकाले सिन्ह्वा समाचार संस्था र चाइना ग्लोबल टेलिभिजनलगायत पाँच सञ्चार माध्यमहरुलाई कुनै सामाग्री किन्नु अगाडि अनुमति लिनुपर्ने व्यवस्था गरेको थियो। अमेरिकी कदमको चीनले बिरोध गरेको थियो।

त्यसको एक महिनापछि चीनले न्युयोर्क टाइम्स, वासिंंगटन पोस्ट, वाल स्ट्रिट जर्नललगायका मुख्य सञ्चार माध्यमहरुका १३ पत्रकारलाई देश निकाला गरेको थियो। निस्काशन गरिएका पत्रकारलाई पुनः अवसर दिने वा नदिने भन्ने बारेमा केही खुलाईएको छैन।


प्रतिक्रिया दिनुहोस्