आइबा अध्यक्ष उमारले भेट राष्ट्रपति र प्रधानमन्त्रीलाई

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ९ : ५७


काठमाडौं। अन्तर्राष्ट्रिय बक्सिङ महासंघ (आइबा)का अध्यक्ष उमार क्रेम्लेभ बुधबार नेपाल आएका छन्।

बुधबारनै उमारले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजसँग भेट गरेको नेपाल बक्सिङ संघका प्रवक्ता श्याम अवालेले जनाएका छन्।

प्रवक्ता अवालेले बक्सिङ संघलाई उमारले खेल सामाग्री उपलब्ध गराएको जानकारी दिएका छन्। त्यसअघि नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले अध्यक्ष उमारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

विमानस्थलमा आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष उमारले हिमाल जस्तै नेपाली बक्सिङलाई पनि उचाइमा पुर्‍याउन सकिने बताउँदै नेपाली बक्सिङको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

बक्सिङ संघका अध्यक्ष अवालेले आइबा अध्यक्ष नेपाल आउनु गर्वको विषय भएको बताउँदै नेपाली बक्सिङको अवस्था बुझ्न उनलाई अझ सहज हुने बताए।

नेपाल बक्सिङ संघ र नेपाल ओलम्पिक कमिटीको निमन्त्रणमा नेपाल आएका अध्यक्ष उमार बिहीबार दुबई प्रस्थान गर्ने छन्।


प्रतिक्रिया दिनुहोस्