कर्मचारीसँगको प्रेमका कारण गुम्यो सीईओ पद

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  १ : ४६


काठमाडौं । फास्टफुड क्षेत्रमा स्थापित अमेरिकी कम्पनी म्याकडोनाल्सले कम्पनीका प्रमुख कार्यकारी अधिकृत सीईओ स्टीभ इस्टरब्रुकलाई कम्पनीकी एक कर्मचारीसँग प्रेम सम्बन्ध कायम गरेकोमा बर्खास्त गरेको छ ।

स्टीभ र ती कर्मचारीबीचको सम्बन्ध सहमतिको रहे पनि कम्पनीको नीति विपरित भएकाले बर्खास्त गरिएको म्याकडोनल्सले जनाएको छ । सहकर्मीलाई पठाएको एक इमेलमा स्टीभले ती कर्मचारीसँगको आफ्नो सम्बन्ध स्वीकार गरेका छन् र आफूबाट गल्ती भएको उल्लेख गरेका छन् ।

आफू बोर्डको निर्णयमा सहमत रहेको र कम्पनीको मूल्यलाई सम्मान गर्ने उनले बताएका छन् । ५२ वर्षका स्टीभ डिभोर्सी हुन् । उनले सन् १९९३ मा म्यानेजरका रुपमा म्याकडोनल्सको लण्डन कार्यालयमा काम सुरु गरेका थिए । त्यसपछि उनी बढुवा हुँदै कम्पनीको सीईओसम्म भएका हुन् ।

उनले बीचमा पिज्जा एक्सप्रेस र वागामामामा पनि काम गरे । सन् २०११ मा म्याकडोनल्स छोडेका उनी सन् २०१३ मा बेलायत तथा उत्तरी युरोपको प्रमुखका रुपमा म्याकडोनल्समा फर्किएका हुन् । सन् २०१५ मा उनी कम्पनीको सीईओ भए । कम्पनीको बोर्डले शुक्रबार उनलाई बिदा गर्ने पक्षमा निर्णय गरेको हो । उनको ठाउँमा अब क्रिस केम्पजिन्स्की सिइओ हुनेछन् ।


प्रतिक्रिया दिनुहोस्