नेपालमा विद्युतीय राहदानी दिन थालियो, यस्ता छन् विशेषता र बुझ्नै पर्ने कुरा…

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ६ : ०१


नेपाल सरकारले आज बुधवारदेखि विद्युतीय राहदानी ई–पासपोर्ट कार्यान्वयनमा ल्याएको छ। वैदेशिक यात्राका लागि यसअघि मशीन रिडेबल पासपोर्ट एमआरपी प्रयोग हुँदै आएकोमा अहिले अझ सुधार गर्दै सरकारले ई–पासपोर्ट ल्याएको हो।

नयाँ पासपोर्ट लिनेहरूले अबदेखि विद्युतीय पासपोर्ट प्राप्त गर्ने राहदानी विभागले जनाएको छ। सुरुका १० दिन परीक्षणको रूपमा हेरिने भएकोले सीमित सङ्ख्यामा मात्रै राहदानी वितरण गरिने बताइएको छ।

ई–पासपोर्टमा भएको विद्युतीय चिप्समा व्यक्तिको सबै विवरण हुने भएकोले साइबर कानुनका कतिपय जानकारले भने सुरक्षाबारे चिन्ता व्यक्त गरेका छन्।

लामो समयसम्म प्रयोगमा रहेको हस्तलिखित पासपोर्टलाई विस्थापित गरेर एमआरपी लागु गरेको राहदानी विभागले त्यसको झन्डै ११ वर्ष पछि ई–पासपोर्ट प्रयोगमा ल्याएको हो।

अब विभागले दिने राहदानीमा विद्युतीय चिप हुने र त्यसमा सम्बन्धित व्यक्तिका विवरणहरू समाविष्ट हुने बताइएको छ।
विद्युतीय राहदानीको विशेषताबारे जानकारी दिँदै विभागका प्रवक्ता समेत रहेका निर्देशक शरदराज अरनले भने,‘प्रत्येक ५–१० वर्षमा राहदानीमा सुरक्षाका प्रावधानहरू अद्यावधिक गर्नुपर्ने भन्ने हुन्छ। हामीले ई–पासपोर्टमा सुरक्षा प्रावधान अद्यावधिक गरेका छौँ।’

एमआरपीको तुलनामा ईपासपोर्ट बढी विश्वसनीय र सुरक्षित भएको उनले बताए।

नयाँ ई–पासपोर्ट बनाउन बाँकी प्रक्रिया सबै पुरानै भए पनि विद्युतीय राहदानी लिनका लागि सरकारले जारी गरेको राष्ट्रिय परिचयपत्रको नम्बर अनिवार्य रहेको विभागका निर्देशक शरदराज अरनले बताए।

यसैबीच एमआरपी भएका व्यक्तिले हाल विद्युतीय राहदानी लिन आवश्यक नरहेको विभागका अधिकारीहरू बताउँछन्।

समयावधि रहेसम्म उनीहरूले एमआरपीकै प्रयोग गर्न पाउने र नयाँ बनाउँदा विद्युतीयमा जानुपर्ने उनीहरूले बताएका हुन्।

एमआरपी बनाउन जस्तै ईपासपोर्ट बनाउन पनि उतिनै शुल्क लाग्ने विभागले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्