रोकियो टोटनह्याम, उक्लियो लेस्टर सिटी

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  १ : ०९


काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको आइतबार राति भएको खेलमा टोटनह्याम एभर्टनसँग १–१ को बराबरीमा रोकिएको छ ।

पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफ र इन्जुरी समयमा दुवै तर्फबाट गोल भएको हो । ६३ औं मिनेटमा डेल अलीको गोलबाट टोटनह्यामले अग्रता लियो । ७९ औं मिनेटमा खराब ट्याकलका लागि टोटनह्यामका सन हेङ्ग–मिनले सीधै रातो कार्ड पाए ।

इन्जुरी समयको सातौँ मिनेटमा जेन्क तोसुनले एभर्टनका लागि बराबरी गोल फर्काए । 
बराबरीपछि ११ औं स्थानमा पुगेको टोटनह्यामको ११ खेलबाट १३ अंक भएको छ । १७ औं स्थानको एभर्टनको ११ अंक छ ।

अर्को खेलमा  लेस्टर सिटीले क्रिष्टल प्यालेसलाई २–० ले पराजित गरेको छ ।

पहिलो हाफमा गोलरहित रहेको खेलको दोस्रो हाफमा लेस्टरले दुवै गोल गरेको हो । लेस्टरका लागि काग्लर सोयुन्चुले ५७ औं तथा जेमी भर्डीले ८८ औं मिनेटमा गोल गरे।

जितपछि लेस्टर सिटी ११ खेलबाट २३ अंकसहित तेस्रो स्थानमा पुगेको छ । गोल अन्तरका आधारमा चेल्सी समान २३ अंक नै भए पनि पछि परेको छ । १५ अंकसहित क्रिष्टल प्यालेस नवौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस्