मन्त्रिपरिषद् बैठक बस्दै, सात प्रदेशका प्रमुख नियुक्त हुने

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  १ : ०९


काठमाडौं ।  सात प्रदेशका प्रमुख सिफारिस गर्न मन्त्रिपरिषद बैठक बस्दैछ । प्रधानमन्त्री निवास वालुवाटारमा विहान ११ बजे बस्ने बैठकले आइतबार खाली गराइएका सात वटै प्रदेशका प्रमुखहरुको नियुक्तिको लागि सिफारिस गर्ने तयारी छ। 

आइतबार झण्डै डेढ घण्टा बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले सात प्रदेशका प्रमुखलाई वर्खास्त गर्न गरेको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालै स्वीकृत गर्नुभएको थियो। 

प्रदेश एकका प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश दुईका रत्नेश्वर लाल (कायस्थ), प्रदेश ३ की अनुराधा कोइराला, गण्डकी प्रदेशका बाबुराम कुवँर, प्रदेश ५ का उमाकान्त झा, कर्णाली प्रदेशका दुर्गाकेशर खनाल र सुदुरपश्चिम प्रदेशका मोहनराज मल्ल पदमुक्त हुनुभएको थियो। 

सातै प्रदेश प्रमुखलाई संविधानको धारा १६५ को उपधारा १ बमोजिम पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ माघ ३ गते सात वटै प्रदेशमा प्रमुख नियुक्त गरेको थियो। 

नेकपा शासित ६ प्रदेशसँग सामान्जस्यता राख्ने र परी आएमा प्रदेश दुई सरकारलाई नियन्त्रणमा राख्न सक्ने व्यक्तिको खोजी गरी प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको तयारी छ। 


प्रतिक्रिया दिनुहोस्