राष्ट्रपतिको निर्वाचन जिते भ्रष्ट नेताहरु खोजी–खोजी जेल हाल्ने प्याकियोको प्रतिवद्धता

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  १२ : ०१


फिलिपिन्सका विश्व चर्चित बक्सर म्यानी प्याकियोले बक्सिङ खेलबाट यसैवर्ष सन्यासको घोषणा गरेका थिए। ४२ वर्षका प्याकियोले आगामी वर्ष हुने राष्ट्रपतिको निर्वाचनमा उठ्न खेल जीवनबाट सन्यास गरेको बताएका थिए।

उनले २६ वर्षको बक्सिङ जीवनपछि सन्यास लिँदा दुःख लागेको बताएता पनि जीवनको नयाँ अध्याय सुरुवात गर्न लाग्दा खुशी लागेको उल्लेख गरेका थिए। प्याकिओ ८ भिन्न डिभिजनमा बक्सिङ च्याम्पियन बन्ने विश्वका एक्ला खेलाडी हुन्।

पीडीपी–लबान पार्टीले प्याकियोलाई राष्ट्रपतिको उम्मेदवार बनाउने प्रताव गरेको छ। सो प्रस्ताव प्याकियोले स्वीकार गरेका छन्। फिलिपिन्सका नागरिकले सरकारमा परिवर्तन चाहेको बताउँदै प्याकियोले हालै भनेका छन्,‘म एक फाइटर हुँ, म रिङ भित्र र रिङ बाहिर पनि लडाकु नै हुनेछु।’

उनका अनुसार फिलिपिन्समा यतिबेला इमानदारिता, प्रेम र पारदर्शिताका साथ जनताको सेवा गर्ने सरकारको आवश्यकता छ। प्याकियोले आफू राष्ट्रपति बनेमा गरिबी हटाउन र भ्रष्टाचार रोक्ने काम गर्ने बताएका छन्।

Manny Pacquiao: Philippine icon, boxer... next president?

उनले भ्रष्टाचार गरेको ठहर भएका राजनीतिज्ञलाई समेत जेल हाल्ने चेतावनी दिएका छन्। उनले भनेका छन्,‘मेरो पुरै जीवनमा मैले कसैसँग झुकेको छैन र झुक्ने छैन।’

सीएनएनसँग गत बिहीबार दिएको अन्तर्वार्तामा डुटेर्ते सरकारका भ्रष्ट नेताहरुलाई आफू सरकारमा चुनिए कारवाही गर्ने बताएका हुन्।

वर्तमान राष्ट्रपति रोड्रिगो डुटेर्ते सन् २०१६ मा निर्वाचन जितेर राष्ट्रपति बनेका थिए। उनले अपराध घटाउने र लागुऔषधको समस्यालाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएका थिए। तर आलोचकहरूले डुटेर्तेले सन्दिग्ध मानिसको गैरन्यायिक हत्या गर्न प्रहरीलाई प्रोत्साहन गरेको बताउने गरेका छन्।

उनको कार्यकालमा देशमा लागुऔषध तस्करविरद्ध प्रहरी अभियान चलेको थियो। यस क्रममा प्रहरीले निर्दोष नागरिकहरुको गोली हानी हत्या गरेको विभिन्न प्रतिवेदन सार्वजनिक गरेका छन्। डुटेर्तेले प्रहरीलाई गोली चलाउन आदेश नै दिएका थिए।

राष्ट्रपतिको उम्मेदवार बन्ने घोषणा गरेका प्याकियोले डुटेर्ते शानलाई चुनौती दिने निश्चित छ। प्याकियो विश्वले मन पराएका व्यक्ति हुन्। उनको लोकप्रियता फिलिपिन्समा पनि उत्तिकै छ। डुटेर्तेको शासनबाट डराउने गरेका नागरिकको लागि प्याकियो उपयुक्त राष्ट्रपति हुनसक्छन्।


प्रतिक्रिया दिनुहोस्