भारतको दिल्लीमा दुई नेपालीभाषी महिलाको हत्या, हत्याराको खोजी जारी

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ११ : १७


भारतको राजधानी दिल्लीमा सोमबार घरेलु कामदारको रुपमा कार्यरत दुई नेपालीभाषी महिलाको हत्या भएको छ।

नेपाली भाषी महिलाहरु मिरिककी ३५ वर्षीया मिना राई र दार्जिलिङको मगरजोङकी ४० वर्षीया सुजला गुरुङ भएको बताइएको छ।

हिन्दुस्तान टाइम्सका अनुसार दिल्लीस्थित निजामुद्दिन थाना अन्तर्गत के ब्लक जङ्गिपुरा एक्सटेन्सनको एक घरमा उनीहरुको शव फेला परेको थियो। उनीहरु त्यही घरमा कार्यरत थिए। उनीहरुको मुखमा टेप लगाइएको र हात–खुट्टा बाँधिएका कारण उनीहरुको हत्या भएको प्रहरीको दाबी छ।

जङ्गिपुरामा कार्यरत ती महिलाको अज्ञात व्यक्तिहरूले हत्या गरेको प्रहरीको भनाइ छ। प्रहरीले ४५ सेकेन्डको सीसीटिभी फुटेज फेला पारेको छ, जहाँ महिलाको शव भेटिएको घर बाहिर पाँच मास्कधारी उभिएको देखिन्छ।

एम्स अस्पतालमा पोस्टमार्टमपछि परिवारलाई शव हस्तान्तरण गरिएको र उनीहरुको मंगलबार अन्त्येष्टि गरिएको छ। घटनाको अनुसन्धानका क्रममा प्रहरीले सुजला गुरूङको फोन रेकर्ड फेला पारेको छ भने मिना राईको मोबाइल भने गायब छ।


प्रतिक्रिया दिनुहोस्