‘नेपाल बन्द’ अभूतपूर्व सफल, मुल्यवृद्धि फिर्ता नहुन्जेलसम्म संघर्ष जारी रहन्छ: विप्लव

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ५ : ४१


काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज आह्वान गरिएको ‘नेपाल बन्द’ अभूतपूर्व रुपमा सफल भएको जनाएको छ।

नेकपाका महासचिव विप्लवले पेट्रोलियम, खाद्य पदार्थलगायत अत्यावश्यक उपभोग्य सामग्रीमा सरकारले गरेको मूल्यवृद्धिको विरोधमा आज आह्वान गरेको नेपाल बन्द ऐतिहासिक रूपले सफल भएको विज्ञप्ति मार्फत बताएका छन्।

उनले मूल्यवृद्धि फिर्ता नभएसम्म सङ्घर्ष जारी रहने भएकाले साथ दिइरहन पनि आह्वान गरेका छन्।

मङ्गलबार साँझ धन्यवाद वक्तव्य जारी गर्दै विप्लवले भनेका छन्, ‘हाम्रो महान् तथा जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीद्वारा आयोजित महँगी र मूल्यवृद्धिविरुद्ध आजको नेपाल बन्द आमजनताको सहयोग, समर्थन र सहभागितामा अभूतपूर्व रूपले सफल भएको छ। उक्त बन्द सफल बनाउन सहयोग गर्ने सबै जनसमुदायलाई पार्टी धन्यवाद ज्ञापन गर्दछ।’

विप्लवले अगाडि भनेका छन्, ‘बन्दका क्रममा राज्यले पार्टी केन्द्रीय सदस्य कमरेड क. सन्देश, क.आधारलगायत तीन सयभन्दा बढी नेता–कार्यकर्ता गिरफ्तार गरेको छ। हाम्रो पार्टी उक्त दमनको घोर भत्र्सना गर्दछ। साथै गिरफ्तार नेता–कार्यकर्ताहरूलाइ बिनासर्त रिहा गर्न माग गर्दछ।’

प्रेस वक्तव्यको पूर्णपाठ


प्रतिक्रिया दिनुहोस्