रासायनिक मलको सहज आयातका लागि पहल भइरहेको छः प्रधानमन्त्री देउवा

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ५ : ३४


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले रासायनिक मलको अभाव हुन नदिन सरकारले पहल गरिरहेको बताएका छन् ।

सरकारी निवास बालुवाटारमा कपिलवस्तु ३ बाट निर्वाचित कांग्रेस सांसद अभिषेकप्रताप शाह नेतृत्वको टोलीसँगको भेटमा प्रधानमन्त्री देउवाले किसानलाई आवश्यक मल अभाव नहुनेगरी आपूर्तिको पहल भइरहेको बताए ।

कपिलवस्तुबाट आएका सांसद शाहले मलखाद्य नपाउँदा किसानहरु मारमा परेको जानकारी गराएका थिए। ‘मलखाद्य नपाउँदा किसानलाई धेरै नै सास्ती भइरहेको छ। मलखाद्यको व्यवस्था छिटो भन्दा छिटो हुनुपर्‍यो भन्यौं’, शाहले भने, ‘उहाँ (प्रम)ले कुरो भइरहेको छ। भारतसहित अरु देशसँग कुरा भइरहेको जानकारी गराउनुभयो।’

नेपालमा मलखाद्यको अभाव र भारतबाट नेपाली किसानले ल्याउँदा भारतीय सुरक्षाकर्मीले दुख दिने गरेको छ। सरकारले भारतसहित बंगलादेशलगायत राष्ट्रबाट मलखाद्य ल्याउन परराष्ट्र र कृषि मन्त्रालयमार्फत पहल अगाडि बढाइरहेको छ।

यसअघि सांसद शाहले गृहमन्त्री बालकृष्ण खाणलाई भेटेर मलखाद्यको सहज व्यवस्था गर्न ध्यानाकर्षण गराएका थिए। कपिलवस्तुमा अधिकांश परिवार खेतीकिसानीमा आश्रित छ । तर समयमा मल नपाउँदा किसान मारमा छन्।

कांग्रेस आमन्त्रित केन्द्रीय सदस्यसमेत रहेका शाहले १४औं महाधिवेशनबारे पनि पार्टी सभापति देउवासँग कुरा भएको बताए।


प्रतिक्रिया दिनुहोस्