यी हुन लावस पठाई दिने भन्दै २४ लाख ठग्ने दम्पती (घटना विवरणसहित)

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  १० : ३८


काठमाडौं । वैदेशिक रोजगारीका लागि लावस पठाई दिने भन्दै विभिन्न व्यक्तिबाट २४ लाख रुपैंयाँ ठगेको आरोपमा प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको छ । प्रहरीले ठगी आरोपमा मकवानपुरको हेटौडा उपमहानगरपालिका–१२ स्थित सिग्रेनी सोल्टीचोक बस्ने विजय थिङ् लामा र उनकी श्रीमती सजना थिङ् लामालाई पक्राउ गरेको हो । उनीहरुले वर्किङ भिसामा लावस पठाई दिने प्रलोभनमा पारेर २४ लाख २० हजार रुपैंयाँ ठगी गरी फरार भएका थिए ।

उनीहरुले ठगी गरेको भन्दै रामेछाप नगरपालिका–६ स्थित ओख्रेनी वस्ने नविनकुमार तामाङसहित चार जना पीडितले दिएको उजुरीको आधारमा महानगरीय अपराध महाशाखाको टोलीले हेटौडास्थित सिग्रेनीबाट पक्राउ गरेर आइतबार सार्वजनिक गरेको हो । उनीहरुले पीडितलाई लावस र भारतको डिल्लीसम्म पु¥याई अलपत्र पारी फरार भएको पीडितको भनाई छ ।

घटना विवरण

जिल्ला मकवानपुर हेटौडा उ.प.म.न.पा. वडा नं. १२ सिग्रेनी सोल्टिचोक बस्ने लाल बहादुर थिङ्को छोरा वर्ष ५० को विजय थिङ् लामा  र ऐ.ऐ.बस्ने धन बहादुर थिङ्को छोरी विजय थिङ् लामाको श्रीमती वर्ष ५० की  सजना थिङ् लामा    ले वैदेशिक रोजगारको सिलसिलामा  वर्किङ भिषामा लावस पठाईदिन्छु र आकर्षक तलव हुन्छ भनि विभिन्न प्रलोभनमा पारी विश्‍वास दिलाई विभिन्न मितिहरुमा गरेर जम्मा नगद रु. २४,२०,०००,/- (अक्षरुपी चौविस  लाख विस हजार मात्र ) लिई रकम ठगी गरी विदेश लावस र भारतको डिल्ली सम्म पुर्याई अलपत्र पारी  सम्पर्क विहीन भई फरार रहेको भनि जिल्ला रामेछाप, रामेछाप न.पा. वडा नं. ६ ओख्रेनी वस्ने  नविन कुमार तामाङ  समेतका ४ जना व्यक्तिहरुले यस कार्यालयमा मिति २०७६/०६/०५ गते संयुक्त जाहेरी दिएकोले प्रहरी टोलीले निज विजय थिङ लामा र निजकै श्रीमती सजना थिङ लामालाई खोज तलास गर्ने क्रममा मिति २०७६/०७/१५ गते अन्दाजी १७:०० बजेको समयमा जि.मकवानपुर, हेटौडा उ.प.म.न.पा. वडा नं. १२ सिग्रेनीमा फेला पारी पक्राउ गरी मिति २०७६/०७/१७ गते थप आवश्‍यक अनुसन्धान तथा  कारवाहीको लागी महानगरीय प्रहरी परिसर ललितपुरमा पठाईएको ।

पक्राउ परेका व्यक्ति : 
नामथर:- १. विजय थिङ लामा (वर्ष ५० )
              २. सजना थिङ लामा (वर्ष ५० )
ठेगाना :- जिल्ला मकवानपुर हेटौडा उ.प.म.न.पा. वडा नं. १२ सिग्रेनी सोल्टिचोक
हाल:- .   जिल्ला मकवानपुर हेटौडा उ.प.म.न.पा. वडा नं. १२ सिग्रेनी  सोल्टिचोक


प्रतिक्रिया दिनुहोस्