सर्बियासँग हारेपछि जटिल मोडमा पोर्चुगल, विश्वकप खेल्न यस्तो यात्रा तय गर्नुपर्छ…

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ३ : ०७


सन् २०२२ मा हुने कतार विश्वकप छनोटको खेलमा सर्बियासँग हारेपछि पोर्चुगल जटिल मोडमा पुगेको छ। क्रिस्टियानो रोनाल्डोको देश पोर्चुगलले अब विश्वकप खेल्नको लागि प्लेअफ यात्राको सामना गर्नुपर्ने भएको छ।

एक मात्र खेल जितेको भए पोर्चुगल विश्वकपमा पुग्ने थियो। अब प्लेअफमा रोनाल्डोको टोलीले फेरि दुई खेल जित्नुपर्नेछ।

छनोट चरणको खेलमा सर्बियालाई जितेको भए पोर्चुगल समूह विजेता बन्दै सिधै विश्वकपमा छनोट हुने थियो। तर सर्बियासँग २–१ ले आश्चर्य रुपमा हारेपछि पोर्चुगलले प्लेअफ चरणबाट विश्वकपमा स्थान बनाउन प्रतिस्पर्धा गर्नुपर्ने भएको हो।

पोर्चुगलसँगै अन्य समूहका दोस्रो स्थान हासिल गर्ने १० टोली र नेसन्स लिगको वरीयता अनुसार २ टोलीले प्लेअफमा खेल्नेछन्। अर्थात १२ टोलीले प्लेअफमा प्रतिस्पर्धा गर्नेछन्। प्लेअफको ड्र नोभेम्बर २६ मा हुनेछ।

प्लेअफ चरणबाट तीन टोलीले मात्र विश्वकपमा स्थान बनाउनेछन्। ड्र मार्फत १२ टोलीलाई विभिन्न तीन समूहमा राखिनेछ। हरेक समूहमा चार टिम हुनेछन्। पोर्चुगलले दुई खेल जिते विश्वकपमा छनोट हुनेछ। अथवा तीन समूहमा जुन देशले प्ले अफको दुई खेल जित्छ उ विश्वकपमा छनोट हुनेछ।

हरेक समूहका टोलीले अब सिंगल–इलिमिनेसन सेमिफाइनल सुरुमा खेल्नेछन्। यसमा विजयी भएका टोली सिंगल–इलिमिनेसन प्ले–अफ फाइनलमा पुग्नेछन्।

फाइनल खेल जित्ने तीन टोलीले विश्वकपमा स्थान बनाउनेछन्। स्पोर्टिङ न्युज डटकम


प्रतिक्रिया दिनुहोस्