‘झन् राम्री देखिन मन छ ?’ भनेर मेरा बुवाले जबरजस्ती मेरो नाकको…

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


काठमाडाैं । मार्गो पेरिनलाई आफ्ना आमाबुवाले केही कुरा लुकाइरहेका छन् भन्ने थाहा थियो- खासगरी उनका हिंस्रक बुवाबारे- तर उनीहरूले लुकाइरहेको तथ्य थाहा पाउन उनलाई वर्षौं लाग्यो। उनका बाबुले ग्लास्गो वेष्ट इन्डस्थित घरको बैठक कोठामा बोलाएर 'झन् राम्री देखिन मन छ कि?' भनेर सोध्दा मार्गो पेरिन १३ वर्षकी मात्र थिइन्।

छोरीसँग आमनेसामने बसेर सुनौलो लाइटर छेउमा महँगो एशट्रे र हातमा चम्किलो कालो चुरोटदानीमा अड्काइएको चुरोटको धुँवा फ्याँक्दै उनले भनेका थिए, "हिजोआज आश्चर्यजनक काम हुन थालेको छ।" उनी आफ्नो व्यस्त समयबाट केही समय निकालेर लण्डनमा रहेका एकजना विशेषज्ञकहाँ गए।

मार्गोको नाक बढेर ठूलो हुनुअघि नै आकार घटाउन कस्मेटिक सर्जरी गर्नेबारे उनी सहमत भए। उनले त्यसका लागि समय पनि लिए।


न्यू योर्कमा मार्गोको सबभन्दा कान्छो भाइ बहिनी जन्मनु अघिको परिवार सन् १९६१
मार्गोको हुर्काइको हरेक पाटो दु:खदायी र विस्मयकारी थियो। जीवनको पहिलो ७ वर्षसम्म मार्गो आफ्ना ६ दिदी-भाइ-बहिनी र आमाबुवासँग न्यू योर्क सिटिमा-म्यानहटन पेन्टहाउस सुइटमा बस्थे। तर त्यसपछि उनीहरूको जीवन डाँवाडोल बन्यो। उनीहरूले आफ्नो थर परिवर्तन गरेर नयाँ राखे।

हतार हतारमा भरिएका सुटकेसमा जति राख्न सकिन्थ्यो त्यति सामान राखेर एक ठाउँबाट अर्को ठाउँमा हिँडे। उनीहरू त्यसपछि मेक्सिकोमा बसाइ सरे। त्यहाँ उनीहरूको घरको खानतलासी गरियो। घरको खानतलासी गरिए पनि केही लगेको जस्तो थिएन- कसैले केही खोजे जस्तो लाग्थ्यो। "उनीहरूले हामीबारे कसरी पत्ता लगाए?" मार्गोले आफ्नी आमाले भनेको सुनिन्। "हामी यहाँ छौ भन्ने कसैले थाहा पाउनु हुँदैनथ्यो।"

एउटा ट्याक्सीमा बसेर त्यो परिवार फेरि बसाइ सर्‍यो। यसपटक उनीहरू बहामस गए। मार्गोका बाबुआमाले अकस्मातको उतारचढावबारे आफ्ना सन्तानलाई कहिल्यै केही बताएनन्। उनीहरू आफ्नो विगतबारे विरलै कुरा गर्थे। आमाबाबुबीचको कुराकानी अलि अलि मार्गोले सुन्थिन्। त्यसमा एफबीआइ भन्ने पदावली बारम्बार सुन्थिन्। उनी भन्छिन् "त्यो असाध्यै अन्यौलपूर्ण थियो"। तर झुठ बोलिएका बच्चाहरू चाहिँ जासूस जस्ता बनेका थिए।

आर्डन र मार्गो, १९६३/४
मार्गोका आमा र बाबु – लिलियन र आर्डन सँधै सिँगारपटार गरेर चिटिक्क परेर हिँडथे। आर्डनराम्रा राम्रा लुगा लगाउँथे र छातीमाथिको खल्तीमा रुमाल हालेर हिँड्थे। कपाल नङ बनाउँथे। पालिस लगाएर चम्काइएका जुत्ता लगाउँथे। लिलियनका लुगाहरू सुन्दर थिए। उनी मेकअप गर्थिन् र गाजल लगाइएका आँखाहरूमा उनको आश्चर्यजनक रुप देखिन्थ्यो।

खासगरी न्यू योर्कमा बसेका बेला मदीरापान खुब चल्थ्यो। उनका बाबुआमा हरेक साँझ अपेरा वा सिनेमा हेर्न जान्थे। केटाकेटीको रेखदेखको जिम्मा मार्गोकी सबभन्दा ठूली दिदीको हुने गर्थ्यो। कसैले सोधेको प्रश्नको जवाफ दिन मन नलागे अरु नै केही भनिदिन बाबुले सिकाएको मार्गोले बताइन्।

आर्डन, ग्लासगो, १९६७
एकदिन स्कूलबाट घर फर्केपछि मार्गोले थाहा पाइन् मायामी बीचमा कोही नकाबधारीले उनका बाबुमाथि आक्रमण गरे। "तिमीले बुवालाई देख्यौ?" उनकी एक बहिनीले सोधिन्। उनका बुवालाई पिटिएको थियो। बुबाको अनुहारमा कालो निलो डाम थियो। तर उनका आमाबुवाले उनीमाथि कसले किन आक्रमण गर्‍यो भन्ने बताएनन्।

र, बैठक कोठामा बसेको नचिनेको व्यक्ति उनका अङ्गरक्षक थिए भन्ने पनि बताइएन। तर बच्चाहरूले नसोधिकनै थाहा पाउँथे या लख काट्थे। यी बच्चाहरूसँग बस्नका लागि घर या खानेकुरा सधैँ हुन्थ्यो। उनीहरू सँधै स्कूल पनि जान पाउँथे तर बाबुआमाको माया र रेखरेख भने थिएन। उनीहरूको जन्मदिन बिर्सने भन्ने त हुन्थ्यो नै- उनीहरू आफ्ना बुवासँग त्रस्त रहन्थे। केही गल्ती गरे भने कामबाट फर्केपछि बुवाले घुँडा टेकाएर टेबल टेनिस ब्याटले हान्थे र आमा बल्ल ठिक्क पर्‍यो भने जसरी हेरिरहन्थिन्।

ग्लास्गोस्थित घरको अगाडिपट्टि मार्गो सन् १९६७/८
आफ्ना बुवासँग डराउने भए पनि मार्गोले आफ्नो नाक बनाउने कुरा सुरुमा अस्वीकार गरिन्। उनकी सबभन्दा मिल्ने बहिनी उनको कोठामा रुँदै र त्रस्त हुँदै आएपछि मार्गोले थाहा पाइन् उनका बाबुको भनाइ मान्नुको विकल्प थिएन। उनकी बहिनीले भनिन् – "यदि तिमीले नाक बनाइनौ भने बुवाले मलाई घर बाहिर निस्कन दिँदैनन् त्यसैले नाक बनाउ।"

उनीहरू सबै आफ्ना आमाबुवाबाट भाग्न चाहन्थे र मार्गो आफ्नी बहिनीका लागि अवरोध बन्न चाहन्न थिइन्। "म हतप्रभ भएँ," उनी भन्छिन्। "म कुनै पनि हालतमा मेरी बहिनीलाई बचाउन चाहन्थेँ।" हार्ले स्ट्रीटस्थित नाकका डाक्टरको कार्यालयमा थरीथरीका नाक देखाउने पुस्तिका थियो। आर्डन त्यसपछि आफ्नी छोरीलाई शल्यक्रिया गर्ने अस्पतालमा छोडेर जहाज चढेर ग्लास्गो गए।

तीन दिनपछि ब्यान्डेज बाँधेको नाकसहित कालो र सुन्निएको आँखा लिएर १३ वर्षीय मार्गो एक्लै स्कटल्याण्डस्थित घरतिर लागिन्। त्यसको केही समयपछि नै आर्डनले आफ्नो परिवार छिट्टै बसाइ सर्ने घोषणा गरे। आफ्नो व्यवसाय बढाउनका लागि लण्डन उपयुक्त ठाउँ हुने बुवाले उनीहरूलाई बताए। जब मार्गोका भाइले कस्तो खालको व्यवसाय भन्ने प्रश्न सोधे बुवाका जवाफ थियो- "आफ्नो स्वेटर ल्याउन नबिर्सनु।" 

नयाँ शहरमा आएको केही महिनापछि मार्गोले आफू गम्भीर समस्यामा परेको महसुस गरिन्। ग्लास्गोमा आफ्ना केटासाथीसँग बस्न थालेकी आफ्नी दिदीसँग टेलिफोनमा रुँदै मार्गोले भनिन् "उनले मलाई मारि दिनेछन्।" "कसले तलाईँ मार्दै छ? उनका बाबुले पछाडिबाट आएर टेलिफोन खोसे अनि कपालमा समातेर घाँटी एकातर्फ घुमाइदिए। ग्लास्गो छोड्ने अन्तिम दिन उनी एकजना साथीसँग बिदाबारी हुन उनलाई खोज्दै पबमा पुगिन्।

आफ्नो साथी त भेट भएन। तर त्यहाँ उनले एउटा नचिनेको दाह्रीवाल व्यक्तिले दिएको पिउने कुरा लिइन्। त्यसपछि उनीहरू त्यस व्यक्तिको बस्ने कोठामा पुगे। उसको कोठामा त्यो व्यक्तिले एउटा चम्चामा खैरो पाउडरमा पानी हालेर उमालेको अनौठो मानेर मार्गोले हेरिन्। त्यो व्यक्तिले त्यसरी उमालेको बस्तुको सुई आफ्नो पाखुरामा लगायो।

उनीहरूले चिसो सेतो र कालो टाइल भएको बाथरुमको भुइँमा यौन सम्पर्क गरे। पछि उ निदाएपछि उसको अँगालोबाट फुत्केर मार्गो त्यस साँझ आफ्नो नुहाउने समय हुनु अगावै ग्लास्गोको घरमा पुगिन् र अन्तिम रात बिताइन्। अब उनी गर्भवती भएकी थिइन्।

उनका बाबुले उनलाई भएजति नराम्रा शब्दले गाली गर्थे। उनको पेटमा हान्थे र कसको बच्चा हो भन् भनेर धम्क्याउँथे। मार्गोलाई गर्भपतन गर्न मन थिएन। तर नाक बनाउने काम जस्तै उनले मन नभए पनि गर्भ पतन नगरी सुख पाइनन्। उनकी आमाले उनलाई ट्याक्सीमा राखिन् र त्यो सबै व्यवस्था गर्न कति मुस्किल थियो भन्ने बताइरहिन्।

गर्भपतनलाई वैधानिक बनाउने कानुन त्यसको दुई वर्षअघि सन् १९६७ मा इङ्ल्याण्डमा आइसकेको थियो। तर खासगरी कम उमेरका अविवाहित केटीहरूका हकमा गर्भपतन गर्न हुँदैन भन्ने मान्यता भने त्यसबेला व्याप्त थियो । दक्षिण लण्डनस्थित एउटा अस्पतालमा मार्गोलाई एक्लै प्रसुति कक्षमा छोडियो।

उनी त्यहाँ हाँसो, कुराकानी र नयाँ जन्मेका बच्चाहरूको रुवाइ सुन्थिन्। एउटी नर्सले कोठाबाहिर निस्कनुअघि नजिकै आएर सासले नराम्रो कुरा बोलिन्।

मार्गो(बाँया) नाक बनाएर गर्भपतन पनि गरेपछि पारिवारिक विदा मनाउने क्रममा – उनकी आमाले उनको कपाल पनि काट्न लगाइन्
अन्त्यमा १६ वर्ष पुगेर घर छोड्ने बेला मार्गोले आफैँले आफूलाई हानी पुर्‍याउन थालिसकेकी थिइन्- एउटा केटा साथीबाट अर्को केटा साथी कहाँ जाने र लागु औषध लिन थालिसकेकी थिइन्। १९ वर्षको उमेरमा उनलाई क्यान्सर भयो- हजकिन लिम्फोमा- उनको छिटै मृत्यु हुन सक्ने बताइयो।

मार्गो भन्छिन्- "म बाँच्न चाहन्थेँ र केही बन्न चाहन्थेँ।" उपचारपछि उनले आफ्नो जीवन परिवर्तन गर्न थालिन्। यसबेलासम्ममा उनको आफ्ना आमाबुवासँग निकै कम सम्पर्क थियो। आमाबुवासँग जति टाढा हुन्थिन् उति आनन्द महसुस गर्थिन्। तर आफ्नो अनौठो हुर्काइले उनलाई अन्यौलग्रस्त भने बनाइ रहन्थ्यो।

सन फ्रान्सिस्कोमा मार्गो, 1986
धेरै वर्षपछि जब उनकी एक बहिनीले न्यू योर्क टाइम्समा चिठी पृष्ठमा सम्पादकलाई लेखेको एउटा चिठी छापियो तब उनलाई आफ्ना आमाबुवाबारे थाहा भयो। त्यो चिठी उनकी बुवाकी नातेदारले पनि पढिन् जसका बारे मार्गो र उनका भाइबहिनीलाई थाहै थिएन। एफबीआइले उनका बुवा आर्डनलाई खोजिरहेको र उनका परिवारका सबै सदस्यसँग बयान लिएको ती महिलाले बताइन्।

सन् २००७ मा मार्गोकी भाइकी श्रीमतीले आर्डनको मृत्यु प्रमाणपत्र पाएपछि मार्गोका बुवाबारे थप सूचना हात पर्‍यो। इष्टबोर्न ससेक्समा मस्तिष्कघातको श्रृङ्खला हुनु तीन वर्षअघि नै उनको मृत्यु भइसकेको थियो। र, उनको पेशा अवकाशप्राप्त अर्थशास्त्री लेखिएको सूचनाबाट जानकारी मिल्यो।

जब मार्गोले त्यो प्रमाणपत्र एफबीआइको रेकर्डमा राख्न अनुरोध सहित पत्र पठाइन् एफबीआइले १०० पृष्ठ लामो फाइल सन् १९४० देखिको अपराधको फेहरिस्त सहित उनलाई पठायो। त्यो फाइल हेर्दै जाँदा उनलाई हावामा झुन्डिएर तल्लो तलामा ढयाक्क लिफ्ट खस्दा जस्तो हुन्छ त्यस्तै धक्काको महसुस भएको थियो।

आर्डन न्यू योर्कको माफियासँग जेलिएका थिए र अहिलेको रकममा १४,००० देखि १० लाख डलरसम्मको धोखाधडी काण्डमा एफबीआइले खोजिरहेको थियो। हुँदै नभएका कुराहरूमा लगानी गर्न मानिसहरूलाई उक्साउनेमा आर्डन माहिर थिए।

मार्गो इटलीमा, 1998
स्कटल्याण्डमा उनले एक थोपा ह्वीस्कीको व्यवसाय नगर्ने कम्पनीको नाममा शेयर बिक्री गरेका थिए। उनले आफ्नो पूरै जीवन भागेरै बिताए। मार्गोले भनिन्- मेरा बुवाको व्यवसाय पैसा चोर्नु थियो। तर किन उनका बुवाले उनको नाक बनाउन लगाए होलान्? मार्गो सोच्छिन् उनका बुवाले आफू यहुदी थिए भन्ने कुरा लुकाएका थिए।

छोरीको नाकले यहुदी भएको पहिचान प्रष्ट्याइदेला कि भन्ने आर्डनलाई लाग्थ्यो। मार्गो र उनका भाइबहिनी हुर्किरहेका बेला उनीहरूलाई आफ्नो पहिचानबारे केही थाहा थिएन। उनका आमाबुवाले त्यसलाई सँधै लुकाउन चाहे। तर मानिसहरूले मार्गोलाई सँधै उनी "यहुदी जस्तो देखिने" बताउँथे।

त्यसैले उनका बुवाले आफ्नो परिचय लुकाएको कुरालाई आफ्नी छोरीको नाकले प्रष्ट्याइदेला भन्ने सोचेको ठान्छिन्। "मलाई त्यो सोच्दा पनि बान्ता आउला जस्तो हुन्छ," उनी भन्छिन्, "उनले जे गरे त्यो क्रुर काम थियो।"

के यहुदी नाक भन्ने हुन्छ र?

कलाकार डेनिस कार्डन उनले प्रदर्शन गरेका ४९ यहुदी नाकका साथमा
ट्याब्लेट म्यागेजिनमा शरीर र अनुहारसम्बन्धी इतिहासकार शरोना पर्लले यहुदी नाक भन्ने हुँदैन भन्ने घोषणा गरिन्। उनले भनिन्, "यहुदी नाक भन्ने कुरा हुँदैन। यहुदीका नाक अरु कुनै पनि मान्छेहरूका नाक जस्तै हुन्। उनीहरूका नाक अरु सर्वसाधारणका नाक भन्दा खासै फरक हुँदैनन्।" यो निष्कर्षलाई बल पुर्‍याउन उनले मानवशास्त्री मरिस फिसबर्गको अध्ययनलाई प्रस्तुत गरिन् जसले सन् १९११ मा न्यू योर्कका ४,००० यहुदीको नाक नापेका थिए।

१२ औँ शताब्दीदेखि मात्र यहुदीहरूको लामो र चुच्चो नाक हुने गरी चित्र प्रस्तुत हुन थालेको बताइन्। पर्लले लामो नाक जताततै हुने गरेको र उत्तिकै जस्तो पाइने गरेको बताइन्। अहिले ६४ वर्ष पुगेकी मार्गोले पछि निकै उपलब्धि हात पारेकी छन्। कुनै तह पास गरेको प्रमाणपत्र बिना नै स्कुल छोडेको भए पनि मार्गो लेखिका बनिन्।

यूके र अमेरिकाका विश्वविद्यालय कलेज र स्कुलहरूमा सृजनात्मक लेखन सिकाउने गुरुमा बनिन्। उनलाई बच्चाहरू निकै मन पर्ने भए पनि उनका आफ्नै बच्चाहरू भने छैनन्। उनले बच्चा नपाउनुको केही कारणहरू दिने गरे पनि अहिले चाहिँ १४ वर्षको उमेरमा जबर्जस्ती बच्चा गर्भपतन गरेर फाल्नु परेको अवसादका कारण त्यस्तो भएको हो भन्‍ने विश्वास गर्छिन्।

लेखन मार्फत आफूलाई व्यक्त गर्न सहयोग गर्नेछु भन्ने उद्देश्य मार्गोको थिएन। तर कारागरहरूमा सृजनात्मक लेखन र कविता लेख्न सिकाउन थालेपछि आफूले काम गरिरहेका शक्तिहीन महिला र पुरुषसँगको सामञ्जस्य उनलाई निकट लाग्यो। किनभने सानोमा उनले त्यस्तै महसुस गर्ने गरेकी थिइन् जसमा उनी बन्दी थिइन्, जेलरहरू उनका आमाबुवा थिए।

अवसादबाट बाहिर निस्कन अरूलाई सहयोग गर्ने उनले दिने शिक्षाको केन्द्रबिन्दु बन्न पुग्यो। उनका प्रकाशित तीन किताबको मुख्य विषयबस्तु पनि समस्याबाट बाहिर निस्कन सफल व्यक्तिगत कथाहरू रहेका छन्। उनी भन्छिन्- "हिंस्रक पुरुषहरूले विभिन्न माध्यमबाट मलाई उनीहरू भित्र रहेका मानवता देखाइदिए जुन मेरा लागि खुशीको कुरा थियो। उनीहरूले मलाई माया गरेको अनुभव गरेँ जुन मेरा बुवाबाट मैले कहिल्यै पाइनँ।"

उनले लेखन मार्फत कैदीहरूले आफ्नो विगतबाट बाहिर निस्कन सहयोग मात्र गरिरहेकी थिइनन् खासमा उनी आफ्नै विगतबाट बाहिर निस्किरहेकी थिइन्। आफ्नो बाल्यकालमा के भइरहेको थियो भन्ने ठम्याउन उनलाई वर्षौँ लाग्यो। दशकौँदेखि उनी थेरापी गरिरहेकी छन् र थेरापी गर्दा प्रगति भइरहेको जस्तो महसुस भएको छ।

तर उनका बुवा सामाजिक रोगका रुपमा थिए। उनलाई जन्मदिने आफ्ना बुवाजस्तो उनी नरहेको र उनी आमा जस्ती बाउँठिएकी पनि नभएको थेरापी गर्नेहरूले उनलाई बताउने गर्छन्। "म मायालु सम्बन्धमा छु। म हिंस्रक छैन र म मानिसहरूलाई पछार्दिन पनि," उनी भन्छिन्। उनी सन् १९८६ मा अमेरिका फर्किइन्। उनी भन्छिन्, "मैले फर्केर आफ्नै जीवन हेर्नुपर्छ र त्यस्तो अवस्थाका बीच हात पारेको उपलब्धि पनि।"
बीबीसी 


प्रतिक्रिया दिनुहोस्