मुस्ताङको कोवाङमा भीषण हिमपहिरो, ९ जना घाइते

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  २ : १६


मुस्ताङको टुकुचे अर्थात मानापाथी हिमालबाट हिउँ पहिरो खस्दा कोबाङका दुई जनाको खुट्टा भाँचिएको छ। भाग्नेक्रममा करिब ९ जना घाइते रहेको बताइएको छ।

आइतबार बिहान ११ बजेतिर ३० मिनेटसम्म झरेको पहिरोका कारण डराएर स्थानीयले भागदौड मच्याएका थिए।

कोवाङ, लार्जुङ र नाउरीकोट क्षेत्रमा स्थानीय डरले भागेका थिए। भागदौडका क्रममा स्थानीय जनआर्दश अमरसिंह माविका शिक्षक र विद्यार्थीको खुट्टामा चोट लागेको हो।

पठनपाठन चलिरहेका बेला पहिरो खसेपछि उनीहरू कक्षाकोठा छोडेर भागेका हुन्।

पहिरोको जोखिम अझै कायम रहेकोले नजिकका घरमा बसिरहेका नागरिकहरुलाई सुरक्षित ठाउँमा सारिएको छ । विद्यार्थीलाई समेत अन्तै लगिएको मुस्ताङ प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङको टोली घटनास्थल पुगिसकेको छ। केही वर्षअघि पनि हिउँ पहिरोका कारण त्यहाँ धनजनको क्षति भएको थियो। यो वर्ष मानवीय अन्य क्षति भने नभएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्