उपत्यकामै बढ्यो यौन हिंसा

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  १ : २८


काठमाडौं । नेपालमा प्रत्येक दिन सरदर छ वटा जबरजस्ती करणीसम्बन्धी अपराधका घटना हुने गरेका छन् । आर्थिक वर्ष २०७५÷७६ मा देशभर दुई हजार २३१ वटा जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता भएका छन् ।

काठमाडौँ उपत्यकामा पनि जबरजस्ती करणीसम्बन्धी घटना एक्कासि बढेको प्रहरीको भनाइ छ । आर्थिक वर्ष २०७५÷७६ मा मात्र ५२५ वटा मुद्दा दर्ता भएका छन् । काठमाडौं, ललितपुर र भक्तपुरमा गरी यतिका घटना भएका हुन् । अघिल्लो आर्थिक वर्षको घटनाको एकीकृत विवरण नदेखिए पनि प्रहरीको भनाइमा घटना बढिरहेका छन् ।

यही साउनदेखि असोज मसान्तसम्म काठमाडौं जिल्लामा मात्र जबरजस्ती करणीसम्बन्धी ६७ वटा अपराधका घटना भएका छन् भने जबरजस्ती करणी उद्योगसम्बन्धी १५ वटा छन् । उपत्यकामा हुने जबरजस्ती करणीका कतिपय घटना सामूहिक बलात्कारका छन् ।

सामाजिक सञ्जाल तथा रात्रिकालीन मनोरञ्जनका क्रममा चिनजान र भेटघाट गरी सम्बन्ध बढाई अन्ततः पुरुषले त्यस्ता महिलामाथि सामूहिक बलात्कार गर्ने गरेको भनाइ प्रहरीको छ । 
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख उत्तमराज सुवेदी महिलासँग सम्बन्धित अपराधलाई गम्भीर रूपमा लिई कारबाही अगाडि बढ्ने गरेको बताउँछन् । 
 गोरखापत्र दैनिकबाट।


प्रतिक्रिया दिनुहोस्