साम्प्रदायिक हिंसा रोक्न जनकपुरधामको देवपुरा रुपैठामा ३२ घण्टे निषेधाज्ञा जारी

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ५ : ५६


जनकपुरधाम। केही उच्छृङ्खल तत्त्वले सामाजिक साम्प्रदायिक सद्भाव बिगार्न खोजेको भन्दै जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधामको केही भागमा निषेधाज्ञा जारी गरिएको छ।

जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रुपैठा भन्ने ठाउँमा साम्प्रदायिक सद्भावमा खलल पुग्ने गरी नारा जुलुस र हुलहुज्जत गरिरहेको बुझिएकोले तत्कालको शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै केही क्षेत्रमा निषेधाज्ञा जारी गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ‘३क’ बमोजिम निषेधित क्षेत्रमा कुनै प्रकारको भेला जुलुस, प्रदर्शन, घेराउ, सभा जस्ता क्रियाकलाप गर्न नपाउने गरी शनिबार दिउँसो २ बजेदेखि आइतबार राति १० बजेसम्मको लागि रोक लगाइएको छ।

पूर्वमा जलाद नदीको कल्टी बाँधसम्म, पश्चिममा जनकपुर जटही मार्ग दोबाटो, उत्तरमा हनुमान नगर रामपुर बहुअर्वा जाने बाटो र दक्षिणमा देवपुरा निमचौकदेखि बहुअर्वा जाने बाटोसम्म निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस्